Listen LIVE

बाँकेमा एकसय उनान्चालिस मुद्दामा सय बढी पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा जिल्लामा भएका अपराध, सुरक्षा गतिविधि तथा विभिन्न घटनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस महिनामा कुल १ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराध ४ वटा, गम्भीर अपराधका ३३ र सामान्य अपराधका १ सय २ वटा रहेका छन् । ऊक्त मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १ सय ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा मुद्दामा ४ जना प्रतिवादी संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको छ । पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक अपराधका ३९ वटा घटना दर्ता भएका छन् । प्रहरीमा पुस महिनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी १ वटा मुद्दा पनि दर्ता भएको प्रहरी नायब उपरीक्षक पातलीले बताएका छन् ।

पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा चार सय बढी ठाडो उजुरी परेका छन् । प्रहरीका अनुसार, पुस महिनामा ४ सय २ वटा उजुरी परेको हो । जसमध्ये प्रहरीले १ सय ५६ वटा उजुरी सोही महिनामा फस्र्यौट गरेको छ भने ३ वटा सम्बन्धित निकायमा लेखि पठाएको र २ सय ४३ वटा फस्र्यौट गर्न बाँकी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया