राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
राप्तीसोनारीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै गाउँपालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गरे । उनले सबै सरोकारवालाको सहयोगमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको कार्यले पुर्णता पाएको पनि बताए ।
गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएर पालिकाले काम गरिरहेको बताए । स्वास्थ्य लगायतका सेवालाई प्रभावकारी बनाउन नीतिगत सुधारका कार्यक्रमहरु अगाडि बढाइएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, जिल्ला समन्वय अधिकारी बिक्रम प्रसाद पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, खोप अधिकृत नरेशबाबु श्रेष्ठ, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
गाउँ समुदायमा खोज पड्ताल गरि खोप लगाउन छुटेका ५१ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । राप्तीसोनारीमा जन्मेदेखि १५ महिना उमेर समूहका एक हजार तीन सय ९९ र १६ देखि ५९ महिना उमेर समूहका तीन हजार सात सय ९३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य शत प्रतिशत पूरा भएको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार