Listen LIVE

बाँकेमा सडक पूर्वाधार योजनाको कार्यान्वयन शुरु

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा विनियोजित बजेटको कार्यान्वयन थालेको छ । सडक पूर्वाधार कार्यालय बाँकेले चालु आवमा विनियोजित योजनाहरुको कार्यान्वयनका लागि लागत स्टीमेट तयार गर्ने कार्य शुरु गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा पुगेर स्थलगतरुपमा लागत स्टीमेट तयार गर्ने कार्य शुरु गरिएको सडक पूर्वाधार कार्यालय बाँकेका निमित्त प्रमुख चन्द्रबहादुर शाहीले जानकारी दिए । निमित्त प्रमुख शाह, ईञ्जिनियर गोर्खबहादुर बुढा, अनील चौधरी सहितको टोलीले बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विभिन्न योजनाको स्थलगत अनूगमन सहित लागत स्टिमेटका लागि प्रारम्भिक शुरुवात गरेको हो ।

उनले भने, 'केही दिनमै लागत स्टीमेट तयार पारी बोलपत्र आव्हानको तयारीमा छौं ।'

बाँकेमा सडक पूर्वाधार कार्यालय अन्तर्गत चालु आवमा करिब अढाई सय योजना रहेको जानकारी दिँदै शाहले प्राविधिहरुलाई पालिकागतरुपमा जिम्मेवारी दिएर लागत स्टिमेट बनाउने कार्य शुरु गरिएको बताए ।

योजनाहरुको बिवादरहित, गुणस्तरीय र समयमै काम सम्पन्न होस भन्ने उद्धेश्य राखेर प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष वडा सदस्य सहित स्थानीय बासिन्दाहरुसँग समन्वय र सहकार्यमा काम अघि बढाइएको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले प्रदेशका १२ वटै जिल्लामा रहेमा सडक पूर्वाधार विकास कार्यालयलाई चालु आवमा बिनियोजन भएका योजनाहरुको छिटो भन्दा छिटो कार्यान्वयनमा लैजान निर्देशन दिइएको जानकारी दिदैं समयभित्रै गुणस्तरीय काम गर्नेतर्फ मन्त्रालयले ध्यान दिने बताए । 

गत आवमा अधुरा आयोजनाहरुलाई समेत चालु आवमा सम्पन्न गर्ने गरि बजेट बिनियोजन गरिएको जानकारी दिदैं खत्रीले प्रदेशले ग्रामीण सडक विकासमा प्रथामिकता दिएको बताए ।

प्रतिक्रिया