बर्दिया : बर्दियाको मधुवन नगरपालिका–५ गाउँ नम्बर १७ कि हरि गाहालाई केही समयअघिसम्म घरमा खाली समय कटाउन मुस्किल हुन्थ्यो । बाहिर गएर केही काम गर्न सक्नु हुन्थेन । अहिले ग्रामीण महिला दुना टपरी उद्योग खुलेपछि उनले काम सँगै दाम पनि पाउन थालेकी छन् ।
उनले उद्योगबाट पात ल्याएर घरमै दुना टपरी बनाएर उद्योगलाई बेच्छिन् । हाते टपरी बनाउनका लागि प्रयोग हुने लाफाको प्रतिगोटा तीन रुपैयाँ पाउँछिन् । दुनाको साइज अनुसार २५ पैसादेखि एक रुपैयाँ पाउँछिन् । बाँस चिरेर सिन्का बनाएको प्रतिमुठा २५ रुपैयाँ पाउँछिन् । उनि भन्छिन, 'बुढेसकालमा समय पनि कटेको छ, पैसा पनि पाएकी छु ।Æ'
मधुवन नगरपालिका वडा ६ श्रीनगरकी कौशिला आचार्यले फुर्सदको समयमा घरमा दुना टपरी लगाएरै घरखर्च चलाउने गरेको बताइन् । छोराछोरी विद्यालय पठाएर घरधन्दा भ्याएपछि फुर्सदको समयमा उद्योगले मागेअनुसारको दुना टपरी बनाउने गर्छिन् ।
उनि भन्छिन, 'फुर्सदको समयमा काम गरेर पनि महिनाको ६ हजारको दुना टपरी बनाउँछु, राम्रोसँग काम गरेमा अझ धेरै हुन्छ ।' श्रीनगरकै खिरीसरा थापा र टीका आचार्य पनि मेसिनमा दुना टपरी बनाउनका लागि चाहिने लाफा र हाते दुना टपरी बनाएर आम्दानी गरिरहेकी छन् ।
कतैबाट दुना टपरीको माग आयो भने उद्योगको अध्यक्ष र सचिवले फोन गर्नुहुन्छ, हामीले भनेको साइजका दुना टपरी लगाएर उद्योगमा पठाउँछौँ । खिरीसराले भनिन, 'सँधै उद्योगमा जान भ्याइदैन, उद्योगबाट पात र सिन्का ल्यायो बनायो, बनाएर उद्योगमा पठायो ।'
दुना टपरी बनाउनका लागि उद्योगमै आएर समय दिन नसकेका महिलालाई घरमै बनाउने सुविधा दिएको ग्रामीण महिला दुना टपरी उद्योगकी अध्यक्ष कमला सुनारले बताइन् । उनले भनिन, 'हामी खबर गर्छौं उहाँहरूले बनाउनुहुन्छ । भ्याए ल्याइदिनु हुन्छ नत्र हामीनै घरमा गएर ल्याउँछौँ ।'
ग्रामीण महिला दुना टपरी उद्योगमा १० जना महिलाले दुना टपरी बनाउने काम गरिरहेका थिए । माग पूरा गर्न नसकेर उद्योगले थप १८ जनालाई दुना टपरी बनाउने तालिम दिएको छ । अब २८ जना महिलाले हाते र मेसिनवाला दुना टपरी बनाउने उद्योगकी सचिव ओमा घर्तीले बताइन् । उनले भनिन, 'पूजाआजाका लागि चाहिने हाते दुना टपरीको धेरै माग छ, माग अनुसार उत्पादन गर्नका लागि थप तालिम दिएका छौँ ।' उद्योगले सामुदायिक वनबाट संकलन गरेका सालका पात २५ रुपैयाँ प्रतिकिलोग्राम र बाँसका सिन्का २५ रुपैयाँ मुठाका दरले खरिद गर्दैआएको छ ।
सालको पात संकलन गर्न र बाँसका सिन्काको लागि पुरुषहरू पनि सहभागी हुनेगरेका छन् । 'पैसा चाहिए बोरा लिएर सालको पात टिप्न जान्छन' ग्रामीण महिला सामुदायिक वनका अध्यक्ष गगनसिंह सुनारले भने, 'उद्योगले महिला पुरुष दुवैलाई काम दिएको छ ।'
उद्योगले हाते दुना एक रुपैयाँदेखि तीन रुपैयाँ र टपरी ६ रुपैयाँ ८ रुपैयाँसम्ममा बिक्री गर्दैआएको छ । त्यसैगरी मेसिनबाट बनाएको दुना एक रुपैयाँदेखि तीन रुपैयाँ र टपरी छ रुपैयाँ देखि ८ रुपैयाँसम्म बिक्री गर्दैआएको छ । उद्योग गत वर्ष असोज महिनादेखि उत्पादन सुरु गरेको थियो ।
यस वर्षको दुना टपरी बिक्री हुने सिजन सुरु भएको छ । हालसम्म ४० हजारभन्दा बढीको दुना टपरी बिक्री गरिसकेको सचिव ओमा घर्तीले बताइन् । उद्योग स्थापनाका लागि सम्बर्धन परियोजनाले आर्थिक र प्राविधिक सहयोग गरेको छ । सम्बर्धन परियोजना युरोपियन युनियन तथा अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग, आड्रा नेपालको समन्वय तथा एनसाव नेपाली बी ग्रुप र फेकोफनको साझेदारीमा सञ्चालित छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार