Listen LIVE

फत्तेबाल आँखा अस्पतालमा सयौं जनाका नानी प्रत्यारोपण

नेपालगञ्ज : नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

सो आँखा अस्पतालको कार्निया विभागमा कार्यरत डा. प्रविन राईका अनुसार उक्त अस्पतालमा दुई वर्षको अवधीमा दुई सयभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिएको हो ।

उनले नानी प्रत्यारोपरण अघि डोनर र आँखाको नानी भण्डारण गर्न जिल्लामा समस्या रहेको उल्लेख गर्दै काठमाडौँबाट आँखाको नानी ल्याएर फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीलाई नयाँ दृष्टि प्रदान गर्न सफल भएको बताए ।

डा. राईले भने, ‘‘डा.राजशी श्रेष्ठको नेतृत्वमा रहेको कार्निया विभागले सफलतापूर्वक रेटिनाको सर्जरी गरिरहेको छ ।’’

आँखाको नानी प्रत्यारोपणका लागि डोनर र आँखाको नानी भण्डारण गर्न समस्या रहेकाले सो बारेमा व्यवस्थापनको ध्यानाकर्षण गराइएको डा. राईले बताए ।

सीमावर्ती जिल्ला बाँकेमा स्थापना गरिएको सो अस्पतालमा नेपाल र भारतका आँखाका बिरमीहरू बर्सेनि ठुलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पतालल नेपालगञ्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्म अस्पतालमा ६८ हजार ३१५ जना, सामुदायिक आँखा उपचार केन्दहरूमा सात हजार ७६ जना र बाह्य कार्यक्रममा १६ हजार ५४१ जना गरी जम्मा ९१ हजार ९३२ जनाको आँखा परीक्षण र उपचार गरिएको छ ।

सो क्रममा अस्पतालमा सात हजार ३५१ र विभिन्न शल्यक्रिया शिविरमा १७६ जनाको गरेर जम्मा सात हजार ५२७ जनाको आँखाको शल्यक्रिया गरिएको उक्त अस्पतालले जनाएको छ । 

अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०।०८१ मा सो अस्पतालमा एक लाख एक हजार ४५ जना, सामुदायिक आँखा उपचार केन्द्रहरूमा ११ हजार ९४८ जना र बाह्य कार्यक्रममा २० हजार ३४५ जना गरी जम्मा एक लाख ३३ हजार ३३८ जनाको आँखा परीक्षण रउपचार गरिएको थियो भने आठ हजार ६१२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले अस्पतालले अतिनै गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएकोले नेपालभन्दा भारतका विभिन्न सीमावर्ति जिल्ला लगायत टाढा टाढाबाट समेत ठुलो सङ्ख्यामा आँखाका बिरामीहरू उपचारका लागि आउने गरेको बताए ।

प्रतिक्रिया