नेपालगञ्ज : बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का नेपाली कांग्रेस उम्मेदवार शुधान्सु कोइरालाले आफूले मतदातालाई उधारो आश्वासन नबाँडेको बताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० र वडा नम्बर ३ मा बिहीबार बिहान भएको घरदैलोका क्रममा उनले चुनावको मुखमा प्रायःजसो उम्मेदवारले उधारो आश्वासन बाँड्ने, तर निर्वाचनपछि फर्केर नआउने प्रवृत्ति कायम रहेकाले आफूले त्यस्तो काम नगर्ने प्रतिवद्धता जनाए निर्वाचनपछि पनि आफू जनताकै काममा समर्पित हुने र बिहान–साँझ जनताको सम्पर्कमै रहने बताए ।
‘म अहिले मतदाताहरुलाई यो काम गर्छु, उ काम गर्छु भनेर उधारो आश्वासन बाँड्दैन,’ उनले भने, ‘म पहिलो चोटी उम्मेदवार बनेको छु, नेपाली कांग्रेसालाई विश्वास गरेर मलाई जिताउनुहोस्, तपाईंहरुकै सल्लाह, सुझाव अनुसार म चुनाव जितेपछि काम गरेर देखाउनेछु ।’ चुनावको मुखमा उम्मेदवारहरुले अनेक आश्वासन बाँड्दा जनताले विश्वास नै गर्न छाडिसकेको कांग्रेसका युवा नेता कोइरालाले बताए ।
आफू निर्वाचित भएपछि संघीय संसदमा प्रतिनिधित्व गरेर कानुनहरु बनाउने र बाँके क्षेत्र नम्बर २ को विकासका लागि समन्वय र आवश्यक पहल कदमी गर्ने प्रतिवद्धता दोहोर्याए । सो क्रममा उम्मेदवार कोइरालालाई नेपालगन्ज–१० भृकुटीनगर, भेरी प्राविधिक शिक्षालय टोल, जनस्वास्थ्य कार्यालय टोल, नेपालगन्ज–३ स्थित रानीतलाउ लगायत स्थानमा मतदाताले स्वागत गर्दै टिका, माला र खादा लगाएर आशिर्वाद दिएका थिए । नेपालगञ्ज–१० र वडा नम्बर ३ मा आयाजित घरदैलोका क्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कोइराला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन् । सोही वडाका स्थायी बासिन्दा समेत रहेका नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला यस अघि बाँके, क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरेका थिए । कोइरालाको निधनपछि कांग्रेसले उक्त क्षेत्र लगातार गुमाउँदै आएको छ । जेन–जी आन्दोलनको भावना अनुसार नेपाली कांग्रेसले युवा नेता शुधान्सुलाई यही क्षेत्रमा उम्मेदवार बनाएको हो । यस पटक भने नेपाली कांग्रेसको अस्तित्व फर्काउने तयारीका साथ कोइराला चुनावी मैदानमा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार