नेपालगञ्ज : नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामीको संख्या बढ्दै गएपछि रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकामा गरिएको एक कार्यक्रमका सहभागीहरुले सामुदायिक सचेतनामा जोड दिएका हुन् ।
राप्तीसोनारी गाउँपालिकाको सहयोग, साइविरियम प्रालिको प्राविधिक समन्वय तथा होप ट्रेनिङ एण्ड रिसर्च सेन्टर नेपालगञ्ज र उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. राजन पाण्डे र उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले सहजीकरण गरेका थिए
डा. राजन पाण्डेले नसर्ने रोगको प्रमुख कारण अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, धूम्रपान, मद्यपान तथा तनावपूर्ण जीवनशैली भएका र यस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तर जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले समयमै सचेतना अपनाउन सके जोखिम कम गर्न सकिने बताए ।
पछिल्लो तथ्याङ्कअनुसार समुदायमा सर्ने रोगभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु हुने सङ्ख्यामा उल्लेखनीय वृद्धि हुँदै गइरहेको भन्दै उनले सुगर, प्रेसर, क्यान्सर, मुटु, मानसिक समस्या लगायतका नसर्ने रोगका कारण भयावह स्थिति आउन नदिन, न्यूनीकरण गर्न तथा रोकथामका लागि समयमै चेकजाँच गर्नुपर्ने, उपचारको दायरामा ल्याउने र निरोगी व्यक्तिहरुलाई रोग लाग्नैबाट जोगाउन विभिन्न सचेतनाका कार्यक्रहरु महत्वपूर्ण हुने बताए ।
उनले नसर्ने रोगबाट जोगिनका लागि गुलियाजन्य पदार्थ, सुर्तीजन्य पदार्थ, मदिरा, नुनिलो, चिल्लोजन्य पदार्थको प्रयोग र सेवनमा पूर्णतया बन्देज गर्दै दैनिक आधा घण्टा मात्र भए पनि शारीरिक कसरत र व्यायाम आवश्यक रहेको औँल्याए ।
अधिवक्ता वसन्त गौतमले नसर्ने रोग रोकथामका लागि स्वास्थ्यकर्मी तथा सरोकारवालाई क्षमता अधिवृद्धि तालिम प्रदान, सुर्तीजन्य पदार्थको रोकथाम तथा नियमन र यसको न्यूनीकरण तथा मदिराको नियमन र असरका न्यूनीकरणसम्बन्धी कार्यक्रम, नसर्ने रोगसम्बन्धी सचेतना कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धी तालिम, नागरिक स्वास्थ्य कार्यक्रम लगायतका क्रियाकलाप गर्नुपर्ने बताए ।
नेपालको हालको अवस्थामा कुपोषण र सूक्ष्म पोषक तत्वको कमीका साथै अस्वस्थकर खानपान र मोटोपनाका कारण नसर्ने रोगहरुको जोखिम तीव्ररुपमा बढ्दै जाँदा यसलाई न्यूनीकरण गर्नका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरेको भएपनि प्रभावकारी कार्यान्वयन, अनुगमन र जनचेतनाको कमीले गर्दा चुनौतीहरु कायमै रहेको उल्लेख गरे ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले स्थानीय सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न समयमा निःशुल्क स्क्रिनिङ, जनचेतना तथा विभिन्न सचेतनाका कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिए ।
उनले स्थानीय सरकार एक्लैको प्रयासले पूर्णरुपमा कार्यक्रम सफल नहुने भन्दै नागरिक, नागरिक समाज, सङ्घसंस्था, प्रदेश तथा सङ्घीय सरकार तथा सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यको खाँचो रहेको उल्लेख गरे ।
उपाध्यक्ष मनिषासिंह थारुले समुदायमा नियमित स्वास्थ्य परीक्षण, स्वस्थ आहारको प्रयोग, दैनिक व्यायाम तथा धूम्रपान र मद्यपान त्याग्न प्रेरित गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुका साथै विद्यालय, स्थानीय तह तथा सामाजिक संघसंस्थासँगको सहकार्यमा स्वास्थ्य शिक्षा कार्यक्रमलाई समेत प्राथमिकता दिइएको बताइन् ।
मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले नसर्ने रोगको उपचारभन्दा रोकथाम प्रभावकारी र कम खर्चिलो हुने भएकाले समुदायमै सचेतना अभियान विस्तार गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणले रोगको प्रारम्भिक अवस्था पहिचान गर्न मद्दत पुग्ने भएकाले प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्न आवश्यक रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष सुरेश गौतमले पछिल्लो समय स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पारेको बताउँदै स्वस्थ जीवनशैली अपनाउने बानीको विकास भएमा नसर्ने रोगबाट हुने मृत्यु तथा स्वास्थ्य जटिलता उल्लेखनीय रूपमा घटाउन सकिने विश्वास गरिएको बताए ।
होप ट्रेनिङ एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजन गौतमले नसर्ने रोगलाई न्यूनीकरण तथा रोकथामका लागि सरोकारवालाको क्षमता अभिवृद्धि गरि पैरवी, अनुगमन र कानुनी विशेषज्ञतामार्फत स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
सहभागी सरोकारवालाहरुले समुदायको सक्रिय सहभागिता, परिवारको सहयोग र सरकारी निकायको प्रभावकारी पहलबाट नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियानलाई थप सफल बनाउन सकिने बताए । उनीहरूले स्वस्थ समाज निर्माणका लागि प्रत्येक व्यक्तिले आफ्नो दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार