Listen LIVE

बाँकेमा साढे सत्र हजार नयाँ मतदाता थपिए

नेपालगञ्ज : बाँके जिल्लामा मतदाताको संख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लामा हालसम्म १७ हजार ५ सय ५ जना नयाँ मतदाता थपिएको जानकारी दिएका छन् । योसँगै बाँकेमा कुल मतदाताको संख्या ३ लाख ५१ हजार ४ सय ३९ पुगेको छ ।

बाँकेमा प्रतिनिधिसभाका तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५ सय ३१, क्षेत्र नम्बर २ मा ९८ हजार ५ सय १२ र क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ८ सय ९१ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता संख्या वृद्धि भएसँगै जिल्लामा मतदान स्थल र मतदान केन्द्रसमेत थप गरिएको छ । प्रमुख शाहीका अनुसार यसअघि १ सय ३८ मतदान स्थल रहेको बाँकेमा एउटा मतदान स्थल थपिएको छ । त्यस्तै, ३ सय ८० मतदान केन्द्र रहेकोमा हाल ४ सय ३ वटा मतदान केन्द्र पुगेका छन् ।

यसैबीच, केही मतदान केन्द्र अपायक भएको भन्दै सार्नका लागि निवेदन परेको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर ८ र ९, खजुरा गाउँपालिकाको वडा नम्बर ७ तथा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ का मतदान केन्द्र अपायक भएको जनाउँदै स्थानान्तरणका लागि निवेदन परेको प्रमुख शाहीले बताए ।

मतदाता नामावली सुधारका क्रममा जिल्लामा २ सय ४१ वटा निवेदन त्रुटि सच्याउन र ४ सय ६८ वटा निवेदन अद्यावधिक गर्नका लागि परेको छ । साथै, दोहोरो नाम दर्ता भएका ९ सय ५४ जनाको नाम मतदाता सूचीबाट हटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया