Listen LIVE

पटाका पड्काउँदा स्वास्थ्यमा गम्भीर खतरा

नेपालगञ्ज : हिन्दु नेपालीहरुले दशैं पछि मनाउने सबैभन्दा ठुलो चाड हो तिहार । यो पर्वमा चारैतिर झिलीमिली बत्ति बाल्ने, देउसी–भैलो खेल्ने र खासगरी तराईका जिल्लामा पटाका पड्काएर मनाउने चलन छ । धेरैजसो जिल्लामा प्रशासनले पटाका पड्काउन निषेध गरेको भएपनि पटाका पड्कने क्रम भने रोकिएको देखिदैन ।

रमाइलोका लागि पड्काइने यी पटाका खासगरी स्वास्थ्यका दृष्टिकोणले सही मानिदैन । तिहारको बेलामा पड्काइने पटाका, झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने चिकित्सकहरु बताउँछन् । पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा, कानसहित विभिन्न स्वास्थ्य समस्या हुन सक्छ ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवनमा दीर्घकालीन हुने गर्दछ। मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पु¥याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुन्छ । एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको हुन्छ ।

पटाका पड्काउँदा निस्कने ठूलो आवाजका कारण कान नसुन्ने, केमिकलका कारण आँखामा समस्या हुने, निमोनिया, श्वासप्रश्वासमा समस्या, मुटुमा र फोक्सोमा समस्या हुने र छालामा एलर्जी समेत हुने गर्छ । पटाकामा विष्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्छ ।

मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने गर्छ। छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ ।

पटाकामा भएको रसायनले आँखाको कालो र सेतो दुवै भागलाई नकारात्मक असर गर्छ। पटाका जस्तै बम र रकेट पड्केर आँखा फुटेको कारण आँखाबाट रगत र आँखाको भित्री भाग समेत बाहिर निस्कने गर्छ । पटाकाले गर्दा आँखामा जटिल चोट लाग्ने र सधैंको लागि आँखा बिग्रिने सम्भावना भएकोले यसबाट बच्चादेखि युवासम्मले आफूलाई बचाउनु नै उत्तम विकल्प भएको भिजन आँखा अस्पताल नेपालगञ्जका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतम बताउँछन् ।

प्रतिक्रिया