Listen LIVE

टी–२० विश्वकप : नेपालको अन्तिम तयारी भारतमा

काठमाण्डौ : तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्न लागेको नेपालले आफ्नो अन्तिम तयारी भारतमा गर्ने भएको छ । 

भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने विश्वकपका लागि नेपाली टोली श्रीलङ्कामा केही अभ्यास खेलसहित तयारी गरेर अन्तिम तयारीका लागि भारत पुगेको छ । विश्वकप अघि नेपालले भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट–११ सँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने छ । 

त्यसपछि नेपालले विश्वकपको समूह चरणको खेलअघि संयुक्त अरब इमिरेट्स (युएई) र क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने तालिका छ । नेपालले युएईसँग फेब्रुअरी ३ तारिख र क्यानडासँग ५ तारिख खेल्नेछ । उक्त खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुनेछ ।

त्यसपछि नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेको छ । 

नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्दैछ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । 

नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । 

समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।

प्रतिक्रिया