Listen LIVE

हवाई फायर गरी लागुऔषधका भारतीय कारोबारी पक्राउ

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज बजारमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउम्ड हवाई फायर गरेको छ। हवाई फायर गरेर प्रहरीले भारतीय लागुऔषध कारोबारीलाई ठुलो परिमाणमा खैरो हेरोइन बरामद गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जले दिएको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले हवाई फायर गरेर भारतको बहराइचस्थित रुपईडिहा बस्ने ३५ वर्षीय इलियास अहमदलाई २८० ग्राम १६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। उक्त घटना उनलाई पुस १५ गते राति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक खैरो हेरोइन खरीद–बिक्री भइरहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्न खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरेर उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट उक्त परिमाणको खैरो हेरोइन, एक थान डिजिटल तराजु, हात लगाउने नट एक थान र एउटा मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका इलियास अहमदसँग जिल्ला प्रहरी कार्यालय बाँकेले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया