Listen LIVE

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन्। यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो।

तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए।

यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो।

दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो।

शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहो¥याए।

’कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन’, उनले भने। आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए।

किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेखेका छन्।

मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेनरुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिए।

प्रतिक्रिया