Listen LIVE

दाङमा प्रहरी जवान मृत भेटिए

दाङ : जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान मृत फेला परेका छन् ।  माघ ८ गते दिउँसो देखि सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरका स्थायी बासिन्दा रहेका प्रहरी जवान जिसी माघ ८ गते बिहानको ड्युटी सकेर स्कुटी लिएर बाहिर निस्किएपछि सम्पर्कविहीन बनेका थिए । 

तीन दिनसम्म खोजी गर्दा उनको स्कुटी बाटोमा भेटिएको थियो भने थप खोजतलासका क्रममा घोराही उपमहानगरपालिका–१८ घरडौरास्थित जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार मृतक प्रहरी जवान  जिसीका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयूमा उपचाररत रहेका बेला बिदा माग्दा स्वीकृत नपाएपछि उनी मानसिक तनावमा रहेको बताइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले घटनाको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको र जिसीको मोबाइल फोनको लक खुलेपछि मात्र मृत्युको कारणबारे थप स्पष्ट हुने बताएका छन् ।

दाङ प्रहरीले जवान मृत्यु घटनाबारे थप अनुसन्धान अगाडि बढाएको  जानकारी दिएको छ ।

प्रतिक्रिया