Listen LIVE

बाँके २ मा इश्तियाक राईको चुनावी अभियान तीब्र

नेपालगञ्ज : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राईको चुनावी अभियान तीव्र बनेको छ। नेकपा एमाले को तर्फबाट उम्मेदवार बनेका राईले विभिन्न स्थानमा कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफललाई निरन्तरता दिएका छन्।

चुनावी अभियानका क्रममा नेपालगञ्ज रङ्गशालामा खेलाडीहरूसँग खेलकुद क्षेत्रको विकास, पूर्वाधार विस्तार र युवालाई अवसर सिर्जना गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो कार्यक्रममा सहभागी खेलाडीहरूले स्थानीय स्तरमा खेलकुद मैदान, प्रशिक्षण र प्रतियोगिताको अभावबारे ध्यानाकर्षण गराएका थिए।

त्यसैगरी नेपालगञ्ज–२ को घरबारी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। घरदैलोका क्रममा उम्मेदवार राईले मतदातासँग प्रत्यक्ष भेट गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका थिए। यस्तै, डुडुवा गाउँपालिका–१ पिप्रहवा, नेपालगन्ज–३ एकलैनी तथा नेपालगञ्ज–२० नटनपुर र रमेसरपुर्वामा कोणसभा कार्यक्रम सम्पन्न भएको जनाइएको छ। कोणसभामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

उम्मेदवार राईले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया