बर्दिया : भर्खर सुत्करी भएकी गुलरिया नगरपालिका–८ की राधिका लोध बर्दिया अस्पतालमा आइरन चक्की नपाएर रित्तै फर्किन् । अस्पतालमा निःशुल्क पाइने आइरन चक्की उनले बजारको औषधि पसलमा गएर किनिन् । सुत्केरी भएको ४५ दिनसम्म चक्की खानु पर्छ ।
पखाला लागेपछि अस्पताल आएका गुलरिया–११ का शमसुद्दिन गद्दीलाई स्वास्थ्यकर्मीले जीवनजल समेत किन्न लगाएर रित्तो फर्काए । बर्दिया अस्पतालमा निःशुल्क औषधि उपलब्ध हुन नसक्दा लोध र गद्दी जस्ता सयौं विरामी रित्तो फर्किने गरेका छन् । विरामीहरु निःशुल्क औषधि नपाउँदा पसलबाट खरिद गर्न बाध्य छन् । यसले विपन्न परिवारका विरामी बढी प्रभावित भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले ९८ प्रकारका औषधि निःशुल्क जिल्ला अस्पताललाई उपलब्ध गराउँदै आएको छ । जिल्ला अस्पतालमा दुई महिनायता ५० प्रतिशत बढी निःशुल्क पाइने औषधि नभएको अस्पतालका स्टोर फाँट प्रमुख अविनाश थारुले बताए ।
बर्दिया अस्पताल निःशुल्क औषधि फाँटकी हेल्थ असिस्टेन्ट कोशिका यादवले सिटामोल, जीवनजल, आइरन चक्की, बुफ्रिनलगायत सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका विरामीलाई निःशुल्क वितरण गरिने र्दजनौं औषधिको अभाव भएको बताइन् ।
अस्पतालमा निःशुल्क उपलब्ध गराइने एन्टी रेविज खोपको पनि अभाव छ । प्रदेश स्वास्थ्य आपुर्ती केन्द्र बुटवलमा धेरैपटक पत्रचार गरे पनि उपलब्ध नभएको जिल्ला अस्पतालले जनाएको छ । कर्मचारी बुटवल पुगेर माग गर्दा पनि औषधि नपाएको अस्पतालका लेखा प्रमुख भीम अधिकारीले बताए ।
प्रदेश स्वास्थ्य आपुर्ती केन्द्र बुटवलका प्रमुख जनस्वास्थ्य प्रशासक डा. राजेन्द्र गिरीले संघीय सरकारबाट टेण्डर प्रक्रियामा ढिलासुस्ती भएकोले आपुर्ती नियमित हुन नसकेको बताए । जेठ दोस्रो सातासम्म बर्दिया अस्पतालमा निःशुल्क औषधि पठाइने उनले बताए ।
अस्पताल विकास समितिबाट खरिद गर्न पनि रकम नभएको अधिकारीले बताए । स्थानीय तहले वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई औषधि खरिदका लागि बजेट दिने गरे पनि अस्पतालमा नदिने गरेको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार