नेपालगञ्ज : बडादसैँ नेपालीहरूको घरआँगनमा नजिकिँदै गर्दा बाँके जिल्लामा धार्मिक रौनक र चहलपहल ह्वात्तै बढेको छ । घटस्थापनादेखि नवदुर्गाभरि जिल्लाका विभिन्न चोक, टोल र बजार क्षेत्रमा परम्परागत रूपमा दुर्गा माताको भव्य मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा छ । सोही परम्परालाई मूर्त रूप दिन यतिबेला बाँकेका मूर्तिकार तथा स्थानीय कलाकारलाई मूर्ति बनाउन भ्याइ नभ्याइ भएको छ ।
माटो, बाँस, सुतरी र परालका टुक्रा मिलाएर देवीको मूर्ति निर्माणमा निकै व्यस्त र महत्वपूर्ण मानिन्छ । घटस्थापनाकै दिन दुर्गा मूर्तिको प्राणप्रतिष्ठा गरिने भएकाले कलाकार करिब डेढ महिनाअघिदेखि नै उक्त कार्यमा होमिने गर्छन् । विगतका वर्षमा बाँके र आसपासका क्षेत्रमा पूजा गरिने अधिकांश मूर्ति छिमेकी मुलुक भारतबाट आयात हुने गर्दथे तर पछिल्ला केही वर्षमा भने यो परिस्थिति बदलिएको छ ।
नेपालगञ्जमै स्थानीय कलाकारले व्यावसायिक र कलात्मक रूपमा मूर्ति निर्माण गर्न थालेपछि भारतमाथिको परनिर्भरता उल्लेखनीय रूपमा घटेको छ । नेपालगन्जको विद्युत् रोडमा दुर्गा मूर्ति निर्माणमा व्यस्त रहेका मूर्तिकार अङ्कित मिश्रले यस वर्ष परिवारका सदस्यको सहयोगमा करिब ४० सेट दुर्गा मूर्ति तयार गरिरहेको जानकारी दिए । उनले मौसमी पेसा भएकाले आफूले गत वैशाख महिनादेखि नै यसको तयारी थालेको बताए ।
मूर्तिकार मिश्रले भने, …एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यतया १० देखि १५ दिनको कठोर श्रम लाग्छ । घटस्थापनाको दिनसम्म सबै अर्डर बुझाइसक्नुपर्ने बाध्यताका कारण बिहानैदेखि अबेर साँझसम्म काममै खटिनुपर्छ ।Ú उनले निर्माण गरेका मूर्ति बाँकेका साथै सुर्खेत र दाङ लगायतका छिमेकी जिल्लामा समेत पठाइने गरिन्छ । मूर्तिको आकार र कलात्मक बनावटका आधारमा मूल्य निर्धारण हुने भए पनि एउटा सामान्य सेटको मूल्य १५ हजार रुपैयाँभन्दा बढी पर्ने उनको भनाइ छ ।
मूर्ति निर्माणका लागि आवश्यक पर्ने मुख्य सामग्री माटो, बाँस, सुतरी र भुस स्थानीयस्तरमै उपलब्ध भए पनि अन्तिम शृङ्गार र सजावटका सामग्रीका लागि भने अझै भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ । दुर्गा मूर्ति निर्माण कार्य मौसमी प्रकृतिको भएकाले यसले वर्षभरि नियमित आम्दानीको सुनिश्चितता दिन नसकेको र यसैका कारण नयाँ पुस्तालाई यस रैथाने कलातर्फ आकर्षित गर्न चुनौतीपूर्ण बनेको मूर्तिकार बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार