Listen LIVE

खजुरामा आयुर्वेद सेवा प्रभावकारी बन्दै

खजुरा (बाँके) : बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शाखाले जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा २२ हजार ३ सय ९४ जनाले आयुर्वेद सेवा लिएको जनाएको छ । 

कार्यालयमै आज आयोजित आयुर्वेद सेवा सम्बन्धि पत्रकारहरुसंग अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख किरण खनालले हरेक बर्ष आयुर्वेद सेवा लिनेहरुको संख्या ठूलो आकारमा बढ्दै गएको बताए । 

खनालका अनुसार सेवा केन्द्रले नियमितरुपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्व कर्म सेवा, पञ्च कर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धबद्र्धक औषधि (सतावरी चुर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै आएका छन् । 

खनालले सेवा लिनेहरुमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको समेत जानकारी दिए । उनले आयुर्वेद उपचार पद्धतिका बारेमा प्रचारप्रसार गर्दै यसप्रति नागरिकको आकर्षण बढाउन सञ्चारकर्मीको अहम् भूमिका हुने बताए ।

त्यस अवसरमा सञ्चारकर्मीसहित विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकार खगेन्द्र दाहाल, चन्द्र बोहरा लगायतलाई गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले सम्मान गरेका हुन् । 

वडा नम्बर ३ का कार्यबहाक अध्यक्ष देउमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले अहिले नसर्ने रोग चुनौतीका रुपमा रहेको बताउँदै जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए । उनले पछिल्लो समय विस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताए । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले बोलेका थिए ।

प्रतिक्रिया