राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–३ बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी गरिएको छ । थारू समुदायको मुख्यपर्व माघीको अवसरमा यही पुस ३० गतेदेखि माघ ४ गतेसम्म भुवरभवानी माघी मेला सञ्चालनको तयारी गरिएको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष एवं मेलाका संरक्षक मीनकुमार थारूले जानकारी दिए ।
उनका अनुसार यस वर्ष मेलालाई थप व्यवस्थित गर्दै मन्दिर संरक्षण तथा संवद्र्धन समितिले नै मेला सञ्चालन गर्ने भएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन व्यापारिक कक्ष राखिने छ ।
विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरका रूपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले बताइन् ।
‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ’, उपाध्यक्ष थारूले भुवरभवानी माघी मेलाबारे भनिन्, ‘धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।’
उनले भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार