Listen LIVE

कोहलपुरमा तीन हजार बढीलाई निःशुल्क स्वास्थ्य सेवा

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले वडावासी नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा ३३ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

नगरपालिकाले गत वैशाख १७ गतेदेखि जेठ ३० गतेसम्म नगरका १५ वटै वडाहरुमा सञ्चालन गरेको 'समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम'बाट २८ सय ९४ महिला र ४३५ जना पुरुष गरि जम्मा ३३ सय २९ जना लाभान्वित बनेका हुन् ।

नगरपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक र विशेषज्ञ सहयोगमा 'समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम' सञ्चालन गरेको हो । 

३० वर्ष उमेर समूहमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्वास प्रस्वाससम्बन्धी दीर्घ रोग, मिर्गौलासम्बन्धी रोगहरू, थाइराइड, बाथरोग लगायतका नसर्ने रोगहरू र स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अन्य स्त्रीरोग क्यान्सर लगायतका रोगहरूको विशेषज्ञ चिकित्सकसहितको टोलीले निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका सधैँभर सचेत रहेको र नगरवासीको स्वास्थ्य उपचार गर्नु कर्तव्य र जिम्मेवारी रहेको भन्दै विभिन्न समयमा विभिन्न प्रकारका रोगका विरुद्ध निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइएको बताए ।

कोहलपुर नगर स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत सन्ध्या बरालले कुल ३३ सय २९ जनामध्ये २४ सय ४० जनाको स्वास्थ्य जाँच गर्दा २७७ जनामा उच्च रक्तचाप तथा १५९ जनामा मधुमेह भेटिएको बताइन् । 

शिविरमा २ हजार ७१ जनाले मेडिकल ओपिडी सेवा लिएका थिए । जसमा नसर्ने रोगहरू सिभिए (स्ट्रोक) समस्या भइ परामर्श लिने ६ जना, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग ३३ जनामा, थाइराइडको समस्या भइ परामर्श लिने ४० जना, बाथरोग १९१ जना, ग्यासटाइटिस ५३० जना, दम ९ जना, श्वासप्रश्वाससम्बन्धी अन्य समस्या ४४ जना, मानसिक समस्या ८ जना, शरीरमा विभिन्न भागमा दुखाइका १०६ जना रहेका थिए । रोगको प्रकृति हेरी सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको उनले बताइन् । 

उनका अनुसार स्तन क्यान्सर परीक्षण सिबिइ गरिएका १४ सय ९३ जनामध्ये शंकास्पद ३५ जनालाई पनि सम्बन्धित क्यान्सर अस्पतालमा प्रेषण गरिएको थियो । पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएका १२ सय ३ जनामध्ये भिआइए पोजेटिभ ३६ जना र शंकास्पद १०९ जनालाई पनि सम्बन्धित क्यान्सर  अस्पतालमा प्रेषण गरिएको थियो । 

स्त्रीरोगसम्बन्धी समस्या भिडिएस ३५७, यूभी प्रोल्याप्स १५, पिआइडी १०४ जनाका साथै अन्य समस्याको पनि व्यवस्थापन गरि परामर्श सेवा प्रदान गरिएको थियो । भिडिओ एक्स–रे सेवा लिएका ४०३ जनामध्ये मिर्गौलामा पत्थरी ५० जनामा, मिर्गौलामा सिस्ट १४ जनामा तथा अन्य मिर्गौलासम्बन्धी समस्या ३ जनामा, पित्त थैलीमा पत्थरी ९ जनामा, फाइब्राइड युटेराइन ६ जना, पाठेघर सुनिने ३४ जना, शंकास्पद घाँटीको क्यान्सर १ जना, ट्युमर १ जना, शंकास्पद स्तन क्यान्सर १ जना भेटिएका थिए । उनीहरुलाई अन्य परीक्षणका लागी सम्बन्धित स्वास्थ्य संस्थामा प्रेषण गरिएको जनस्वास्थ्य अधिकृत बरालले जानकारी दिइन् ।  

त्यसैगरी ५८० जनालाई विभिन्न स्वास्थ्य समस्यासम्बन्धी उपचार तथा व्यवस्थापनका लागी परामर्श सेवा प्रदान गरिएको थियो । स्वास्थ्य शिविरमा निःशुल्क भिडिओ एक्सरे तथा निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा कन्सल्टेन्ट फिजिसिएन, स्तन क्यान्सर विशेषज्ञ, स्त्रीरोग क्यान्सर विशेषज्ञ, कन्सल्टेन्ट रेडियोलोजिष्ट, मेडिकल अफिसर, प्यारामेडिक्स, तालिमप्राप्त नर्स, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुले सर्वसाधारण नागरिकका स्वास्थ्य जाँच गरेका थिए ।

प्रतिक्रिया