बर्दिया : बर्दियाको बाँसगढी क्षेत्रबाट ठूलो परिमाणको खैरो हेरोइनसहित र एउटा कारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र बर्दियाबाट खटिएको प्रहरीको टोलीले बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बबई सिँचाइ नहरको दक्षिण किनाराबाट १३१ ग्राम ५४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको हो। गोप्य सूचनाका आधारमा गए राति लागुऔषध कारोबार भइरहेको सूचनापछि लागुऔषध नियन्त्रण ब्यूरोसहित गएको प्रहरीको टोलीले युपी ३२पी टी ७४१० नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो–कालो रंगको कार रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारको पछाडि सिटमा सवार अंकित कुमारले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लाको मिहीपुरवा थाना बस्ने २१ वर्षीय हर्षित यादव (कार चालक) र २२ वर्षीय अंकित कुमार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ। उनीहरूको साथबाट एक थान आईफोन, एक थान भिभो कम्पनीको स्क्रिन टच मोबाइल र उक्त कार समेत बरामद गरिएको बर्दिया प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ भने उनीहरूविरुद्ध लागगुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार