बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्र अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा दुई फर्मलाई ४२ लाख ७६ हजार रुपियाँ जरिबाना गरेको छ ।
नगरपालिकाले मधुवन नगरपालिका–९ मा सञ्चालित नुरी स्टोन इन्डस्ट्रिज प्रालि र बारबर्दिया नगरपालिका–२ स्थित लक्ष्मी बालुवा प्रशोधन केन्द्रलाई संयुक्तरूपमा उक्त जरिबाना गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार बबई नदीको बारबर्दिया क्षेत्रभित्र ठेक्का सम्झौता नभएको स्थानबाट नदीजन्य पदार्थ उत्खनन गरिएको पाइएपछि कारबाही गरिएको हो । मधुवन नगरपालिकाले कुमराघाट क्षेत्रमा उत्खननका लागि ठेक्का दिएको भए पनि सम्बन्धित फर्मले सीमा मिचेर बारबर्दिया क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेको अनुगमनका क्रममा फेला परेको थियो ।
जरिबाना रकममध्ये उत्खननमा प्रयोग गरिएका एक्साभेटर र टिप्परका लागि चार लाख रुपियाँ, नगरपालिकाको स्वीकृतिबिना उत्खनन गरेको अभियोगमा दुई लाख रुपियाँ तथा उत्खनन गरिएको नदीजन्य पदार्थको राजस्वबापत ३६ लाख ७६ हजार रुपियाँ निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले एक स्थानीय तहमा ठेक्का सम्झौता गरेर अर्को स्थानीय तहको क्षेत्रभित्र उत्खनन गर्न… कानुनविपरीत भएको बताउँदै यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए ।
नगरपालिकाका अनुसार तोकिएको जरिबाना रकम सम्बन्धित फर्मले राजस्व खातामा दाखिला गर्ने प्रक्रिया सुरु गरिसकेका छन् । लक्ष्मी बालुवा प्रशोधन केन्द्रका सञ्चालक दामोदर अधिकारीले नगरपालिकाको निर्णयअनुसार सम्पूर्ण रकम बुझाउने तयारी भइरहेको बताए ।
स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिए पनि स्वीकृत क्षेत्र र परिमाणभन्दा बढी उत्खनन हुने गुनासो बढिरहेका बेला बारबर्दिया नगरपालिकाको यो कारबाहीलाई स्रोतसाधनको संरक्षण र राजस्व चुहावट नियन्त्रणतर्फको कदमका रूपमा हेरिएको छ ।
बर्दियाका विभिन्न स्थानमा उत्खनन गरिएका नदीजन्य पदार्थ अझै पनि सामुदायिक वनक्षेत्रमै थुपारिएको अवस्था रहेको छ । वन ऐन अनुसार त्यस्ता सामग्री वनक्षेत्रमा भण्डारण गर्न नमिल्ने भए पनि निर्माण व्यवसायीले वनक्षेत्रलाई अस्थायी भण्डारण स्थलका रूपमा प्रयोग गर्दै आएको स्थानीयको गुनासो छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार