बर्दिया : बर्दियामा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा भन्सार छली गरी भारततर्फ लैजान लागिएको १८ लाख २३ हजार रुपैयाँ बराबरका तरबुजको बीउ र चिनियाँ लसुन बरामद गरेको छ। घटनामा दुई भारतीय नागरिक पक्राउ परेका छन् भने एक घटनामा संलग्न व्यक्तिहरू फरार भएका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२, फुटहा क्षेत्रमा भन्सार छली गरी भारततर्फ लैजान लागिएको तरबुजको बीउ बरामद गरेको हो।
प्रहरीका अनुसार टोली पुगेपछि सामान ओसारपसारमा संलग्न व्यक्तिहरू बीउ छाडेर फरार भएका थिए। घटनास्थलबाट ११ बोरा -४४० केजी) तरबुजको बीउ बरामद गरिएको थियो। त्यसपछि गरिएको खोजतलासका क्रममा नजिकैको खाली घर–गोठलाई गोदामका रूपमा प्रयोग गरी राखिएको थप १७ बोरा (६८० केजी) बीउ फेला परेको प्रहरीले जनाएको छ।
बरामद २८ बोरा (१ हजार १२० केजी) तरबुजको बीउको अनुमानित मूल्य ११ लाख २० हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि प्रहरी चौकी जमुनी, बर्दियामा बुझाइएको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, साउन ११ गते राति बढैयाताल गाउँपालिका–२ स्थित फुटाहा दशगजा क्षेत्रको ५१ नम्बर सीमा स्तम्भ नजिकबाट नेपालबाट भारततर्फ साइकलमा चोरी पैठारी गरी लैजान लागिएको चिनियाँ लसुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बहराइच जिल्ला, सोहनी ग्राम पञ्चायतका ३८ वर्षीय कमान चौधरी र १४ वर्षीय रुपेश चौधरी रहेका छन्। उनीहरूको साथबाट १० बोरा (३०० केजी) चिनियाँ लसुन र तीन वटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
थप खोजतलासका क्रममा नजिकैको खाली घर–गोठमा गोदाम बनाएर राखिएको थप २१ बोरा (६३० केजी) चिनियाँ लसुन पनि बरामद गरिएको छ। यससँगै कुल ३१ बोरा (९३० केजी) लसुन बरामद भएको प्रहरीले जनाएको छ। बरामद लसुन र साइकलको अनुमानित मूल्य ७ लाख ३ हजार रुपैयाँ रहेको छ। पक्राउ परेका दुवै जनासहित बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा पठाइएको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार