नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ । सो क्षेत्रमै पहिलोपटक देखिएको घटनाले ग्रामीण स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको संकेत गरेको छ ।
गत चैत २८ गते मृत्यु भएकी ती महिला पाँच महिनादेखि बिरामी थिइन् । उपचारका लागि उनले स्थानीय स्वास्थ्य चौकी, निजी क्लिनिक र भारतको बहराइचसम्म पुग्दा पनि रोग पहिचान हुन सकेन । अन्ततः भेरी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएपनि उपचार ढिलो भइसकेको थियो ।
स्वास्थ्यकर्मीका अनुसार यो रोगको उपचारका लागि आवश्यक औषधि सस्तो र सहजै उपलब्ध हुने भएपनि समयमै परीक्षण नहुँदा ज्यान गुम्नु परेको हो ।
जानकी गाउँपालिका–५ बेलहारी स्वास्थ्य चौकीकी इञ्चार्ज गंगा मरासिनीले गाउँपालिकामा अस्पताल सञ्चालनमा नआउनु र प्रयोगशाला सेवाको अभाव मुख्य समस्या भएको बताए । æबिरामीहरू समयमै पहिचान नहुँदा अन्तिम अवस्थामा मात्रै ठूला अस्पताल पुग्छन्,Æ उनले भने ।
प्रकोप अनुसन्धानका क्रममा भेरी अस्पतालका प्राविधिकको सहयोगमा मृतकका परिवार र स्थानीयहरूको रगत नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
स्वास्थ्य संयोजक दलबहादुर रानाले हाल एक वडामा मात्र प्रयोगशाला सेवा सीमित रहनु चिन्ताजनक भएको बताउँदै अन्य वडामा सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्थानीयवासीहरूले सामान्य जाँचको अभावमा ज्यान गुम्नु परेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आधारभूत स्वास्थ्य सेवा विस्तारमा ध्यान दिन आग्रह गरेका छन् ।
वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले घटनाप्रति दुःख व्यक्त गर्दै आधारभूत प्रयोगशाला सेवा विस्तार गर्ने विषयमा पहल शुरु गरिएको जानकारी दिए । उनले स्रोत, जनशक्ति र उपकरण व्यवस्थापन गरी स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय तहमा समयमै रोग पहिचान र उपचारको पहुँच सुनिश्चित गर्न नसकिए यस्ता घटना दोहोरिन सक्ने देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार