नेपालगञ्ज : सल्यानको कालिमाटीमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ६ हात्तीढुंगाका ६५ वर्षीय चन्द्रबहादुर खप्पतडीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
घरदेखि करिव २ किलोमटिर उत्तर पूर्वको शान्ति सामुदायिक वनमा दायाँ खुट्टाको भाग घुँडासम्म खाएको अवस्थामा शव फेला परेको थियो । प्रहरी चौकी घुइँयाबारीमा खोजीका लागि घर परिवारले खबर गरेपछि प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट घुइँयाबारीबाट जमदार यज्ञबहादुर कुमालको कमान्डमा सात जना नेपाली सेनाको टोली र स्थानीयबासी खोजी कार्यमा जाँदा शव फेला परेको हो ।
प्रहरीका अनुसार सोमबार दिउँसो १२ बजेतिर खप्पतडी घरदेखि करिब तीन सय मिटर टाढा रहेको घट्टमा पिठो पिसाउनका लागि भनेर गएका थिए । तर, उनी फर्किएर आएका थिएनन्। घर परिवारले उनी बाघको आक्रमणमा परेको आशंकासहित राति पौनै १० बजेतिर मात्रै प्रहरीमा खबर गरेका थिए । खोजी गर्ने क्रममा बाघले खाएको अवस्थामा बिहान शव फेला परेको हो ।
केही दिनअघि पुस २५ गते मात्रै कालिमाटी गाउँपालिका वडा नम्बर ७ पर्सेनी गाउँकी ४२ वर्षीया धनसरी रावतको घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट मृत्यु भएको थियो । घर नजिकै रहेको हरियाली सामुदायिक वनभित्र घाँस–दाउरा काट्न गएको समयमा बाघले आक्रमण गरेको थियो ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पनि यही पुस १९ बाघको आक्रमणबाट मृत्यु भएको थियो । उक्त घटना भएको चार दिनपछि पनि बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा सुर्खेतको भेरीगंगा नगरपालिका–५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको थियो । बाँसगढी नगरपालिका वडा नम्बर १ सँग सीमा जोडिएको सुर्खेतको शक्ति सामुदायिक वन क्षेत्रमा महिलाको शव भेटिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार