सुर्खेत : प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको म्याद थप गरिएको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरिएको हो । आगामी मङ्सिरमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित गरेर रङ्गशाला निर्माणको कामलाई अघि बढाइएको छ ।
२०७८ साल कात्तिक २८ गते प्रदेश रङ्गशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । एमएसी–जिएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० रुपियाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ साल जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भए पनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । २०८१ असोज १० गतेसम्म रङ्गशाला निर्माणको म्याद थप गरिएको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । प्रतियोगिताको प्रमुख केन्द्रका रूपमा उक्त रङ्गशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ ।
अत्याधुनिक तरिकाले काम अघि बढाइएको रङ्गशाला दस हजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको जानकारी सदस्य सचिव सञ्ज्यालले दिए । उनका अनुसार छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउनेलगायतका काम मात्र बाँकी छन् । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । प्यारापिट स्टेडियमको काम, स्विमिङ पुल, छाना लगाउने काम भइरहेको छ भने अन्य काम करिब सकिएको जनाइएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माणलगायतका काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् । आउटडोर मोडमा बास्केटबल, भलिबल कोर्ट तथा फुटबल मैदानको काम पनि सकिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार