Listen LIVE

टरीगाउँ विमानस्थल बन्यो चुनावी एजेन्डा

दाङ : हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारले विमानस्थलको धावनमार्ग विस्तार र नियमित हवाई उडान सञ्चालनलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका छन् । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र अवस्थित टरीगाउँ विमानस्थल विकासको आधारका रूपमा प्रस्तुत गर्दै उम्मेदवारले यसले पर्यटन, व्यापार तथा आपत्कालीन सेवामा सहजता ल्याउने दाबी गरेका छन् । यद्यपि अघिल्ला निर्वाचनमा पनि पटक पटक उठ्दै आएको यो विषय कार्यान्वयनमा भने अपेक्षित रूपमा अघि बढ्न नसकेको स्थानीयवासीको गुनासो छ ।

निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका दीपक गिरी, नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेय, नेपाल कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, रास्वपाबाट कमल सुवेदीसहित विभिन्न साना दल, स्वतन्त्रसमेत गरी २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सबै जसो उम्मेदवारले टरीगाउँँ विमानस्थललाई विकासको प्रमुख पूर्वाधारका रूपमा व्याख्या गर्दै आएका छन् । 

सरोकारवाला भने विमानस्थल विस्तार र नियमित उडान सञ्चालनका विषयमा विगतमा बजेट विनियोजन र नीतिगत निर्णय भए पनि जग्गा व्यवस्थापन, प्राविधिक तयारी तथा कार्यान्वयन पक्ष कमजोर रहँदा योजना अलपत्र परेको बताउँछन् । हरेक निर्वाचनमा यो विषय राजनीतिक एजेन्डा बने पनि पहल गर्ने नेतृत्वकर्ताले प्रभावकारी भूमिका खेल्न नसक्दा विमानस्थलको धावनमार्ग विस्तार हुन नसकेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष खगेन्द्र पोख्रेलले बताए । 

यद्यपि तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा घनश्याम पाण्डेय निर्वाचित भएर आएपछि उनीसहित तुलसीपुरका उद्योगी, पर्यटन व्यवसायीको पहलमा अहिले नियमित उडान भएको उनले बताए । तर उक्त टरीगाउँ विमानस्थलमा १९ सिटे विमान मात्रै अवतरण गर्न सक्छन् । यस पटक स्पष्ट कार्ययोजना, समयसीमा र जिम्मेवारीसहितको प्रतिबद्धता गर्न सक्ने उम्मेदवार चाहेको उनले बताए ।

निर्वाचित भएपछि टरीगाउँ विमानस्थललाई व्यवहारमा उतार्न सक्ने नेतृत्व आवश्यक रहेको पोखरेलले बताए । यो विषय यस पटक पनि चुनावी बहसको केन्द्रमा रहेकाले निर्वाचनपछिको कार्यान्वयनले मात्र उम्मेदवारको प्रतिबद्धताको विश्वसनीयता परीक्षण गर्ने देखिन्छ ।

प्रतिक्रिया