बर्दिया : बर्दियाका केरा किसानले भोटको बदला मल चाहिने बताएका छन् । केराखेतीतर्फ बर्दिया जिल्ला आत्मनिर्भर भई निर्यात गर्न सक्षम हुँदै गर्दा केरा किसानले मलको भने चरम अभाव खेपिरहेका छन् ।
केरा किसानले केराखेतीका लागि अलग्गै रासायनिक मलको कोटा निर्धारण गर्नुपर्ने उम्मेदवारसमक्ष माग गरिरहेका छन् । किसानसमक्ष भोट माग्न गएका उम्मेदवारलाई केराका लागि मल उपलब्ध गराउनु हुन्छ कि गराउनु हुन्न ? भनेर प्रश्न गर्ने गरेका छन् ।
गत वर्ष पनि मलको अभाव भोगेका किसानले यस वर्ष पनि मलको अभाव भोगिरहेका छन् । मलको अभावले गर्दा केराको उत्पादन नबढेको गुलरिया नगरपालिका–४, सुहेलवाकी किसान सुनिताकुमारी चौधरीले बताइन् । उनले भनिन, “केराखेतीका लागि सबैभन्दा ठुलो समस्या मलको अभाव हो । केरामा आत्मनिर्भर हुने र उत्पादन बढाउने हो भने मलको अलग्गै कोटा निर्धाण हुनु पर्छ ।”
गुलरिया नगरपालिका–४, सङ्गमटोलका केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले जुनसुकै सरकार आए पनि किसानका लागि पर्याप्त मल उपलब्ध गराउन नसकेको बताए । उनले केरा लगाउने किसान त झन् मलका लागि हेपिएको बताए । मलको सहज आपूर्ति हुने हो भने बर्दियामा केराखेती अझै बढ्ने उनको भनाइ छ ।
पर्याप्त मल नहुँदा आगामी वर्षमा केराखेती अझ घट्न सक्ने गुलरिया नगरपालिका–४, रामबजारका किसान जयबहादुर शाहीले बताए । उनले भने, “समस्या झेलेर किसानले कसरी खेती गर्छन्, मल नभए केरा उत्पादन हुँदैन ।”
नगरपालिकाले केरा किसानलाई भन्दा पनि अरू किसानलाई मात्र मल दिने गरेको केरा व्यवसायी सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए । उनले पछिल्लो समयमा नगरपालिकाले केरा किसानलाई आफूले मल पनि नदिने, छुट्टै कोटाका लागि प्रदेशमा सिफारिस पनि नगर्ने गरेको गुनासो गरे ।
“अब केरालगायतका फलफूल खेती र व्यावसायिक तरकारी खेतीका लागि सङ्घले नै नीतिगत सुधार गरी मलका लागि अलग्गै कोटा निर्धारण गर्नु पर्छ,” उनले भने, “हामीले सबै उम्मेदवारसमक्ष एजेन्डामा समावेश गर्न अनुरोध गरेका छौँ ।”
बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । करिब सात सय घरपरिवार संलग्न रहेको केराखेतीबाट बर्दियामा वार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसायी सङ्घ बर्दियाको तथ्याङ्क रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार