दार्चुला : सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका भारतसँग जोडिएका सीमानाकाबाट दैनिक नेपाल आइरहेका नागरिकको समेत किट अभावमा कोरोना परीक्षण गर्न समस्या भएको छ । छिमेकी राष्ट्र भारतमा पुनः कोरोनाको सङ्क्रमण फैलिरहेको अवस्थामा रोजगारीको सिलसिलामा त्यहाँ गएका नेपाली नागरिक र नेपाल घुम्न आउने भारतीय नागरिकमा कोरोना परीक्षण गर्न समस्या भएको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिए ।
सीमानाकाबाट दैनिकरूपमा नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गरिरहेको भए पनि किट अभावमा कोरोना परीक्षण गर्न नसकिएको उनले बताए ।
कोरोना सङ्क्रमण सकिएसँगै सकिएको कोरोना परीक्षण किट अहिले पुनः आवश्यक भएको बताइएको छ । उनले भने, “कोरोनाको सङ्क्रमण सकिएपछि किटको काम भएन, अहिले पुनः आवश्यक पर्यो अबको दुई–तीन दिनभित्रै किट खरिद गरेर परीक्षण सुरु गर्ने योजना छ ।”
कोरोना परीक्षण अभावमा दार्चुलाका सीमानाकाबाट नेपाल प्रवेश गर्ने कुनै पनि नागरिकमा हालसम्म कोरोना परीक्षण भएको छैन । जिल्ला अस्पताल दार्चुलामा पनि किट अभावकै कारण शङ्कास्पद व्यक्तिमा कोरोना परीक्षण गर्न नसकिएको उनले बताए । स्वास्थ्य कार्यालय दार्चुलाले प्रदेश र केन्द्र सरकार अन्तर्गतका स्वास्थ्य मन्त्रालय, विभागसँग कोरोना परीक्षणका लागि किट माग गरेको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए । दार्चुला सदरमुकाम खलङ्गा पुलघाटस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल छेउमा हेल्थ डेस्क भए पनि किट अभावमा कोरोना परीक्षण गर्न नसकिएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार