Listen LIVE

नेपालगञ्जमा स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना

नेपालगञ्ज : नेपालगञ्जमा करिब दुई दशकपछि स्व. राजा स्वर्गीय वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको छ । २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा हटाइएको शालिक शुक्रबार राति पुनःस्थापना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न आन्दोलनका क्रममा हटाइएका वा क्षतिग्रस्त भएका ऐतिहासिक व्यक्तित्वका शालिक पुनःस्थापना गर्ने अभियानअन्तर्गत स्व. राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरेको जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार यसअघि वीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, सहिद सेतु विक तथा दोस्रो जनआन्दोलनका क्रममा हटाइएको स्वर्गीय राजा त्रिभुवनको शालिक पनि पुनःस्थापना गरिसकिएको छ । नेपालगञ्जका विभिन्न चोकमा रहेका अधिकांश ऐतिहासिक शालिक अहिले पुनःस्थापित भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले लामो समयदेखि पुनःस्थापना हुन बाँकी रहेका तथा विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ऐतिहासिक शालिकहरू क्रमशः पुनःस्थापना गरिएको बताए ।

उनका अनुसार इतिहास, संस्कृति र समाजका विभिन्न कालखण्डसँग सम्बन्धित व्यक्तित्वप्रतिको सम्मान व्यक्त गर्दै सार्वजनिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

प्रतिक्रिया