Listen LIVE

सडक, ढल र रोजगारीलाई प्राथमिकता दिने राईको प्रतिबद्धता

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ लगदाहवा गाउँमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पूर्वमन्त्री राई स्वयं मतदाताको घर–घरमा पुगेर प्रत्यक्ष संवाद गरेका थिए।

घरदैलो अभियानमा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा पूर्वमन्त्री राईले वडा नम्बर १८ को समग्र विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उहाँले लगदाहवा क्षेत्रको सडक स्तरोन्नति, ढल व्यवस्थापन, स्वच्छ खानेपानी आपूर्ति, स्वास्थ्य सेवा विस्तार तथा युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताउनुभयो। “विकासको अनुभूति घर–घरमा पुग्नेगरी काम गर्ने मेरो प्रतिबद्धता हो,” राईले भन्नुभयो, “स्थानीय आवश्यकता बुझेर योजनाबद्ध ढंगले अघि बढ्छौं।”

कार्यक्रममा स्थानीय मतदाताहरूले पनि खुला रूपमा आफ्ना समस्या, अपेक्षा र सुझावहरू राखेका थिए। पूर्वमन्त्री राईले ती सबै सुझावलाई प्राथमिकताका साथ समेटेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो।

वडा अध्यक्ष दीपक वर्माले स्थानीय तह र संघीय प्रतिनिधिबीच प्रभावकारी समन्वयमार्फत विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता जनाउँदै मतदाताको साथ र विश्वासलाई सम्मान गर्ने बताउनुभयो।

घरदैलो कार्यक्रमपछि स्थानीय बासिन्दामा चुनावी माहोल थप तातिएको छ। विकास र रोजगारीको स्पष्ट प्रतिबद्धतासहित अघि बढेका पूर्वमन्त्री राईप्रति वडा नम्बर १८ का मतदातामा सकारात्मक चासो देखिएको छ।

प्रतिक्रिया