Listen LIVE

सुदूरपश्चिम विकासमा प्राथमिकता दिएका छौं : प्रचण्ड

डडेल्धुरा : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको समग्र विकासका लागि माओवादी पार्टीले प्राथमिकता दिँदै आएको बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उदघाटन गर्न बैतडीको पाटन जानु अघि शुक्रबार डडेल्धुरामा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले विश्वविद्यालय, सुक्खा बन्दरगाह, मध्यपहाडी लोकमार्ग लगायतका थुप्रै भौतिक पूर्वाधारका संरचनाहरू आफ्नो पार्टीको नेतृत्वमा अगाडि बढाइएको बताए । 

डडेल्धुरामा पर्ने महाकाली नदीमा पुल बनाउने प्रधानमन्त्री हुँदा भारतसँग भएको सम्झौता हालसम्म पनि अघि नबढेको पत्रकारको प्रश्नमा उनले सबै पार्टी र सबै पार्टीका नेता विकासका योजना ल्याउन र काम गर्न नसक्ने बताए । नेकपा माओवादी केन्द्र त्यस्तो पार्टी हो । जसले सरकारको नेतृत्व गर्दा सबभन्दा धेरै प्राथमिकता सुदूरपश्चिमलाई दियो । उनले भने, “तथ्याङ्कमा यथार्थमा हेर्नु भयो भने म पहिलो पटक प्रधानमन्त्री हुँदा कुनै प्रदेशमा सबैभन्दा बढी भ्रमण गरेको छु भने त्यो सुदूरपश्चिम नै हो । शिक्षाको क्षेत्रमा, भौतिक पूर्वाधारको क्षेत्रमा र अन्य क्षेत्रमा पनि सबभन्दा बढी जोड गरियो भने सुदूरपश्चिम नै हो । एउटा मान्यताद्वारा प्रेरित भएर नै मैले र हाम्रो पार्टीले सुदूरपश्चिमलाई विकास नगरेसम्म नेपालमा समता मुलक विकास हुन सक्दैन । समग्र विकास हुनै सक्दैन भन्ने मान्यताबाट ।“ 

सुदूरपश्चिम विश्वविद्यालय स्थापना माओवादी पार्टी र आफूले गरेको उल्लखे गर्दै उनले विश्वविद्यालयको स्थापना पछि थुप्रै कलेजहरू बनेको बताए । “म विभिन्न कलेजहरूको शिलान्यास, उदघाटन गर्न पुगेको छु ।“ उनले भने, “अहिले दोधारा चाँदनीमा सुक्खा बन्दरगाहा कसको कारणले भयो भनेर हेर्नुभयो भने । सेती कोरिडोरदेखि तमाम भौतिक पूर्वाधारका कुराहरु हेर्नुभयो भने या हामीले विश्वविद्यालय नै बनाउने भनेर गेटामा शदरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रश्ताव क्याविनेटबाट पास गरेर अगाडी कसले बढायो भनेर हेर्नुभयो भने । इमानदार भई दिन हुन आग्रह छ मेरो । तथ्यालाई कसैले पनि यताउता गर्न सकिँदैन ।“

उनले मध्यपहाडी लोकमार्ग या हुलाकी लोकमार्ग यी दुईटै मार्गलाई अगाडि बढाउने प्रश्ताव गरिहेको बताए । मध्यपहाडी लोकमार्ग आफू पहिलो पटक प्रधानमन्त्री हुँदा प्रश्ताव गरिएको उनले बताए । मध्यपहाडी क्षेत्रमा बस्ने जनताको आर्थिक, राजनितिक, सांकृतिक जीवन र राष्ट्रिय एकता सुध्रित होस भन्ने उद्देश्यले मध्यपहाडी लोगमार्गको प्रश्ताव अघि बढाइएको उनले बताए । 

हुलाकी मार्ग धेरै वर्षदेखि रोकिएको थियो । उनले भने, “हामीले नै हुलाकी मार्गलाई कञ्चनपुरसम्म ल्याउने गरी निर्माण गर्नुपर्छ भनिएको हो । यस्तो थुप्रै तथ्यहरू छन । जसमा सुदूरपश्चिमलाई प्राथमिकता दिएर काम गरिनुपर्छ भनिएको छ ।“ 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार उल्टो बाटोमा हिँडेको बताए । सरकार उल्टो बाटोमा हिँडेको भएपनि ढाल्ने तर्फ आफ्नो पार्टीको ध्यान नभएको उनले बताए । “अहिले हाम्रो ध्यान सरकार तिर, सरकार ढलाउने वा बनाउने तिर छैन । यद्धपि हामीलाई चिन्ता छ,“ उनले भने, “सरकार गलत बाटो तिर हिडि राख्या छ । सरकार हामिले सुरु गरेका सुशासन भत्काउन तिर लागेको छ । राम्रो काम गर्नेलाई दण्डित गर्दैछ । नराम्रो काम गर्नेलाई पुरस्कृत गदै छ र उल्टो बाटोमा हिँडेको छ ।“ यस प्रति माओवादी पार्टी चिन्तित भएको उनले बताए ।

प्रतिक्रिया