नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।
आगलागीमा परी बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना गरी ८ जना घाइते भएका हुन्। घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको थियो। घाइतेमध्ये जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनलाई थप उपचारका लागि बिहान ८ः४५ बजे भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्य घाइतेमा २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव, ३५ वर्षीय लक्ष्मीराम यादव तथा भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगलागीबाट भएको अन्य भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार