बर्दिया : तिहार तथा छठ पर्व नजिकिएसँगै मिठाईको खपत बढ्ने भएकाले खाद्य स्वच्छता र गुणस्तर कायम गराउन बर्दियामा मिठाई पसलको अनुगमनलाई तीव्रता दिइएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षण गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले मिठाई पसलको अनुगमन गर्दै व्यवसायीलाई मिठाईको नाम, प्रयोग गरिएका मुख्य सामग्री, उपभोग्य मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीका नाममा सूचना जारी गर्दै उपभोक्ताले सहजै देख्ने गरी सोकेस वा काउन्टरमा आवश्यक विवरण राख्न आग्रह गरेको हो ।
विभागको निर्देशन कार्यान्वयन गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले मिठाई पसलको अनुगमनलाई तीव्रता दिएको छ । बर्दियाको गुलरिया र बढैयाताल क्षेत्रमा सञ्चालित मिठाई पसलको अनुगमन गर्दै व्यवसायीलाई मिठाईको नाम, मुख्य सामग्री, उपभोग्य मिति र मूल्य स्पष्ट रूपमा खुलाउन आग्रह गरिएको कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताए ।
उनले भने, æमिठाई तयार गरी बिक्री वितरण गर्ने व्यवसायीलाई आफूले उत्पादन गरेको मिठाईको नाम, मुख्य सामग्री, उपभोग्य मिति र मूल्य स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरिएको छ ।Æ विभागको निर्देशनअनुसार उक्त व्यवस्था कार्तिक १६ गते सोमबारसम्म कार्यान्वयन गरिसक्नुपर्ने र पालना नगरेको पाइएमा नियमानुसार कारबाही हुने उनले जानकारी दिए ।
कार्यालयका अनुसार मिठाईमा प्रयोग गरिएका कच्चा पदार्थ, तेल वा घिउ, उपभोग्य मिति र मूल्यसम्बन्धी विवरण ग्राहकले सहजै देख्न सक्ने गरी पसलको सोकेस वा काउन्टरमा राख्नुपर्नेछ । होटल, मिठाई पसल तथा मिठाई भण्डार सञ्चालन गर्ने व्यवसायीलाई गत कार्तिक ११ गतेदेखि उक्त व्यवस्था कार्यान्वयन गर्न विभागले सूचित गरेको थियो ।
अनुगमनका क्रममा गुलरियाका सात र बढैयातालको एक गरी आठवटा मिठाई पसलको निरीक्षण गरिएको खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले जानकारी दिए । अनुगमनका क्रममा आठमध्ये तीनवटा पसलमा प्रयोग भइरहेको तेलमा टोटल पोलार मटेरियल (टीपीएम) को मात्रा निर्धारित मापदण्डभन्दा बढी पाइएको उनले बताए ।तीनवटा पसलबाट खानका लागि अयोग्य अवस्थामा रहेको छ लिटर तेल नष्ट गरिएको उनले जानकारी दिए ।
सरकारले खाद्य पदार्थ पकाउन प्रयोग गरिने तेलमा टोटल पोलार मटेरियलको मात्रा २५ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । उक्त मापदण्डभन्दा बढी भएको तेल प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले नष्ट गर्न लगाइएको उनले बताए ।
अनुगमनका क्रममा गुलरियाका गुप्ता चिया तथा नास्ता पसल, श्री निजानन्दी चिया नास्ता तथा मिठाई पसल, श्री कृष्ण प्रणामी चिया नास्ता पसल, एभरेस्ट चिया नास्ता तथा मिठाई पसल, पर्वत मिठाई पसल, सफिक हल्वाई चिया नास्ता पसल र मदन चिया नास्ता पसल तथा बढैयाताल गाउँपालिका– मैनापोखरस्थित साथीभाइ चिया नास्ता पसलको निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा केही पसलमा मिठाईमा अत्यधिक रङ प्रयोग गरिएको, खानेकुरा लेखिएको कागजले छोपेर राखिएको तथा सरसफाइमा कमी देखिएको प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले बताऐ । उनले व्यवसायीलाई खाद्य स्वच्छता कायम गर्दै देखिएका कमीकमजोरी सुधार गर्न आग्रह गरिएको जानकारी दिए ।
तिहार तथा छठ पर्वका समयमा अन्य समयको तुलनामा मिठाईको खपत बढी हुने गर्दछ । गुणस्तरहीन मिठाई तथा खाद्य पदार्थको उपभोगले उपभोक्ताको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले मिठाईमा प्रयोग भएका सामग्री, उपभोग्य मिति र मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी गराउने उद्देश्यले विभागले यस्तो व्यवस्था लागू गरेको हो । यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईको गुणस्तर, प्रयोग गरिएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्न सक्ने आपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार