काठमाण्डौ : नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एशियन युथ पारा गेम्समा रजत पदक जितेका छन्।
उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७)तर्फ उक्त पदक प्राप्त गरेका हुन्। बिहीवार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रन थिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए। फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३–११ अङ्कले र तेस्रो सेट १२–१० ले जिते पनि दोस्रो सेटमा ११–६, चौथो सेट ११–५ र अन्तिम सेटमा १२–१० अङ्कले हार बेहोरेका थिए।
न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोलाई ३–१ सेटमा पराजित गरेका थिए। उनले उक्त खेल ११–९, ११–८, ५–११ र ११–९ अङ्कले जितेका थिए।
न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए। टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीले जानकारी दिए।
एशियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथ्लेटिक्स, तेक्वान्दो र भारोत्तोलनमा सहभागिता जनाएको छ। प्रतियोगिता मंसिर २८ गतेसम्म चल्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार