Listen LIVE

विश्व रक्तदाता दिवसका अवसरमा नेपालगञ्जमा रक्तदान

नेपालगञ्ज : विश्व रक्तदाता दिवस आज बाँकेमा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसर पारेर प्रजातान्त्रिक उद्योग व्यवसायी संघ,रक्तदाता समाज, ब्लड डोनर ग्रुपले छुट्टा छुट्टै रक्तदान कार्यक्रमको आयोजना गरेको प्रादेशीक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके र स्वास्थ्य सेवा समितिले चेतनामूलक कार्यक्रमको आयोजना गरेको रेडक्रसका सभापति गोवर्धन सिंह सम्झनाले जानकारी दिए । “रक्तदाता अभिमुखीकरण, रक्तदाता सम्मानलगायतका कार्यक्रम आयोजना गरेका छौँ” उनले भने, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तदातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।” यस्तै प्रजातान्त्रिक उद्योग व्यवसायी संघ नेपालगञ्ज नगर समितिको आयोजना भएको रक्तदान कार्यक्रमको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उदघाटन गर्दै रक्तदाननै जीवनदान भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरे ।

उनले प्रजातान्त्रिक उद्योग व्यवसायी संघले मानवीय सेवा गरेकोमा खुसी समेत व्यक्त गरे । उद्योग व्यवसायी संघ नेपालगञ्ज नगर समिति अध्यक्ष शिव प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणुसिंह ठाकुर, उद्योग व्यवसायी संघका बाँके अध्यक्ष संजय थापा लगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिनका लागि नै विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । यस वर्ष ‘दान मनाउने २० वर्षः रक्तदाताहरूलाई धन्यवाद !’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ ।

नाराले जीवनपर्यन्त रगतको आवश्यकता पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गर्ने व्यक्तिहरूलाई धन्यवाद दिएर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ । यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।

पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।

प्रतिक्रिया