Listen LIVE

जनअपेक्षा अनुसार पार्टीलाई रूपान्तरण गर्ने एमालेको प्रतिबद्धता

नेपालगञ्ज : नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले निर्वाचन परिणामपछि पार्टीभित्र समीक्षा गर्दै जनअपेक्षा अनुसार रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो सन्देश सार्वजनिक गर्दै पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुसार पुनर्गठन गर्न अग्रसर रहने र अविचलित रूपमा जनता तथा राष्ट्रको सेवामा समर्पित भइरहने बताएका हुन्।

उनले भनेका छन्, “बिगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गंभीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रुपनान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

पौडेलले निर्वाचन परिणामबाट पार्टीका नेता–कार्यकर्ता विचलित नहुन आग्रह गरेका छन् । उनले राजनीति लामो यात्रा भएकाले यसमा उतारचढाव स्वाभाविक रहेको उल्लेख गर्दै लेखेका छन्, “जस्तोसुकै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन ।”

लोकतन्त्रको सुन्दरता जनताको अभिमत भएको उल्लेख गर्दै उनले रुपन्देही क्षेत्र नम्बर २ का मतदाताको निर्णयलाई सविनय र सहर्ष स्वीकार गरेको बताएका छन्।

यस निर्वाचनमा विजयी भएका रास्वपाका सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन्।

पौडेलले रुपन्देही विशेष गरी क्षेत्र नम्बर २ लाई आफ्नो जीवनको अभिन्न हिस्सा र कर्मभूमि भएको उल्लेख गर्दै पदमा रहे पनि नरहे पनि यहाँका जनताको सुख–दुःखमा सधैं साथ रहने बताएका छन्।

निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने तथा आफ्ना आ–आफ्ना विश्वासका आधारमा विभिन्न चुनाव चिन्हमा मतदान गर्ने मतदाताप्रति सम्मान व्यक्त गर्दै उनले चुनावी अभियानमा खटिएका एमालेका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

साथै निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता–कार्यकर्ता, सञ्चारकर्मी तथा सञ्चारमाध्यमप्रति पनि उनले आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया