नेपालगञ्ज : राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं.१ बाँकेले वीपी मार्गमा पदयात्रा गर्ने भएको छ । कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडकको जननिर्वाचित प्रधानमन्त्री स्वः वीपी कोइरालाले शिलान्यासको तयारी गरेका थिए । र, तत्कालीन अवस्थामै बजेट समेत विनियोजन गरेका थिए ।
खड्कवार–घुइयावारी, दाङ–सल्यान, बुटवल–पाल्पा, धनकुटा–हिले सडक निर्माणका लागि बजेट विनियोजन गर्दै शिलान्यासको तयारी गरेका थिए । संसदमा समेत उनले ती सडक निर्माण गर्ने गरी तयारी गरिएको जानकारी समेत दिएका थिए । तर राजा महेन्द्रले विस २०१७ साल पुस १ गते ‘कु’ गरेसँगै सडक निर्माणको काम अलपत्र परेको हो । खड्कवार–घुइयावारी सडकका लागि विनियोजित बजेटले ववई छिन्छु सुर्खेत सडक निर्माण भयो । तर अहिलेसम्म कोहलपुरको खड्कवार हुँदै सल्यान घुइँयावारी जोड्ने उक्त सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।
यो सडक सल्यान कोहलपुर आउजाउका लागि निकै चलनचल्तीको मानिन्छ । सल्यानबाट कोहलपुर–नेपालगञ्ज झर्नु पर्यो भने अधिकांश मानिसहरुले यही खण्डलाई प्रयोग गर्थे । यो दूरीका हिसावले पनि अत्यन्तै छोटो छ । खड्कवार हुँदै सल्यान घुइँयावारी पुग्न २० किलोमिटर भन्दा कम छ । वीपी कोइरालाको परिकल्पना र आवश्यकता समेत रहेको उक्त सडक निर्माणमा दवाव दिन वीपी मार्गमा पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति पोषण केसीले जानकारी दिए ।
पार्टीका संस्थापक नेता बीपी कोइराला लगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ केसीले भने–‘त्यही सन्दर्भ पारेर वीपी मार्गमा पदयात्रा गर्न लागिएको हो ।’ चालू आर्थिक वर्षका लागि यो सडक निर्माणका लागि बजेट समेत विनियोजन भएको छ ।
प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री भएका बेला बजेट विनियोजन भएको हो । विनियोजित बजेटलाई कार्यान्वयन गर्नका लागि दवाव स्वरुप पनि यो पदयात्रा गर्न लागिएको क्षेत्रीय सभापति केसीले बताए । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको एक सय दिने अभियानमा बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि काँग्रेस केन्द्रीय सदस्य कृष्ण किशोर घिमिरेको नेतृत्वमा करिव ३० जनाको टोलि पदयात्रामा जाने केसीले बताए ।
मंगलवार विहान १० बजे खड्कवारमा विशेष कार्यक्रमको आयोजना गरी वीपी मार्गमा पदयात्रा सुरु गरिने क्षेत्रीय सभापति केसीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार