नेपालगञ्ज : अति न्यून शुल्कमा पश्चिम नेपालका हजारौं बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालले यस क्षेत्रका सर्वसाधारणको सुविधाका लागि सेवा शुल्क घटाएको छ ।
भेरी अस्पतालमा सेवाग्राहीहरुले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ । समितिका अनुसार भेरी अस्पतालको सेवा सुविधामा सुधार गर्ने अभियान सुरु गरेर सोही अन्तर्गत विभिन्न निर्णयहरु गर्दै कार्यान्वयन गर्न थालिएको हो ।
भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालका अनुसार यस क्षेत्रका विपन्न, गरिब र मध्यमवर्ग लगायत सबैलाई सहज हुने गरि अस्पतालले आफ्ना विभिन्न सेवा शुल्कहरु घटाएको बताए । उनका अनुसार अस्पतालबाट प्रवाह भइरहेको ओपिजी शुल्क एक हजार ५०० बाट घटाएर ८०० रुपैयाँ, डेक्सा स्क्यान शुल्क दुई हजार ५०० बाट घटाएर एक हजार ५०० कायम गरिएको छ । सोही प्रकारले एमआरआई सेवाको शुल्क पनि घटाइएको छ ।
यसैगरी, अस्पतालले ईमरजेन्सी विभागबाट दिइरहेको एक्सरे सेवालाई थप जनशक्तीको व्यवस्थापन गरी चौविसै घण्टा सेवा प्रदान गर्ने निर्णय गरिएको छ भने अस्पतालमा हिस्टोप्याथोलोजी सेवा विस्तारको लागि आवश्यक तयारी गरी यथासिघ्र सञ्चलनमा ल्याउने निर्णय पनि गरिएको सदस्य डा. धितालले बताए ।
अस्पताल विकास समितिका अनुसार प्राविधिक खराविका कारण बन्द रहेको सिटी स्क्यान मेसिन यथासिघ्र मर्मत गरि सेवा सञ्चालन गरिने तथा सिटी स्क्यान मेसिन धेरै पुरानो भइ हरेक वर्ष मर्मत गर्नुपर्नुर्ने हुँदा सोको खर्च धान्न अस्पतालले नसक्ने अवस्था रहेकोले १२८ स्लाईस क्षमताको नयाँ सिटी स्क्यान खरिद गर्नको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरिएको छ ।
अस्पतालले यसअघिनै अनलाइन टिकेटको व्यवस्था गरिसकेको छ भने ओ.पि.डी. टिकेट काउण्टरमा ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलाहरु लाईनमा नबसी यथासिघ्र सेवा प्राप्त गर्ने गरी व्यवस्था मिलाउने निर्णय समेत गरिसकिएको थियो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा दैनिक ५०० देखि एक हजारभन्दा बढीको संख्यामा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार