दाङ : लुम्बिनी प्रदेश सरकारले हरेक काम पारदर्शी जनउत्तरदायी बनाउन पहल थालेको छ । सरकारको कार्ययोजनाबारे जनतालाई जानकारी दिने प्रक्रियालाई थप व्यवस्थित बनाउन विभिन्न महत्वपूर्ण कदम चालिएको हो ।
आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित प्रवक्ता तथा सूचना अधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रमको उदघाटन सत्रमा मुख्यमन्त्री आचार्यले पारदर्शिता र सुशासन प्रवद्र्धन सरकारको प्राथमिकतामा रहेको बताए । उनले सरकारका हरेक काममा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न सूचना व्यवस्थापन सुधारमा जोड दिइएको उल्लेख गरे ।
मुख्यमन्त्रीका अनुसार पारदर्शिताका लागि सरकारले कार्यालयबाट प्रत्येक निकायमा सूचना अधिकारी तोक्ने प्रक्रिया अघि बढाइएको छ । यसले सूचनाको माग समयमै पूरा गर्ने वातावरण तयार पार्ने अपेक्षा गरिएको छ । सरकारी कामकारबाहीका विषयमा जनतालाई सहजै जानकारी दिन सूचना व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने काम भइरहेको छ ।
नागरिकको हकलाई प्रभावकारी बनाउन सरकारले सूचना प्रवाहमा ढिलासुस्ती र अपारदर्शी प्रक्रियालाई अन्त्य गर्न ठोस कदम चालेको छ । सरकारी कार्यक्रम र कार्यान्वयन प्रक्रियालाई जनताले सहजै नियाल्न पाउने गरी रिपोर्टिङ प्रणालीलाई नियमित र पारदर्शी बनाइएको छ ।
मुख्यमन्त्री आचार्यले सरकारका सबै गतिविधि स्पष्ट र प्रभावकारी ढङ्गले जनतासमक्ष पुर्याउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिए । उनले भने, “हामी जनताको ऐना हौं। सरकारका हरेक कामलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन आवश्यक छ ।”
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यको उपस्थिति थियो । सूचना अधिकारीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनउत्तरदायी शासन प्रवद्र्धनका लागि सरकारका पहलहरूलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सरकारले पारदर्शिता र सुशासनको माध्यमबाट जनताको विश्वास जित्न चालिएका कदमहरूलाई आगामी दिनमा थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ । जनताको सूचनामा पहुँच सुनिश्चित गर्न सरकारले सूचना प्रवाह प्रणालीलाई सुधार्न निरन्तर काम गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार