Listen LIVE

कुपोषण व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम

नेपालगञ्ज : बाँके युनेस्को क्लबले नेपालगञ्जमा सञ्चालन गरेको कुपोषणको व्यवस्थापन सम्बन्धी तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा सञ्चालनमा रहेको जिवनका लागि पोषण कार्यक्रम परियोजना अन्तर्गत सो तालिम नेपालगञ्जमा सञ्चालन गरिएको हो ।  

सो तालिमको उद्देश्य सहभागीहरूको क्षमता अभिवृद्धि गरी कुपोषण व्यवस्थापन तथा गुणस्तरीय पोषण सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको क्लबले जनाएको छ । तालिममा कुपोषणको पहिचान, उपचार, प्रतिवेदन प्रणाली तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो ।

तालिमकोे उदघाटन नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सपना परियारले सहभागीहरूलाई स्वागत गर्दै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो भने स्वास्थ्य महाशाखा प्रमुख चन्दले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराइन् ।

अद्यावधिक निर्देशिका अनुसार सञ्चालन गरिएको उक्त तालिममा प्राविधिक ज्ञान प्रदान गर्न प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागितामूलक विधिहरू प्रयोग गरिएको थियो । यसले सहभागीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्नुका साथै सरोकारवालाबीच समन्वय र सहकार्यलाई पनि सुदृढ बनाएको आयोजकले जनाएको छ ।

सहभागीहरूको तर्फबाट वडा नम्बर १५ स्वास्थ्य संस्थाका इन्चार्ज राजन बहादुर थापाले तालिममा सहभागी हुने अवसरप्रति आभार व्यक्त गर्दै सिकेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारीरूपमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेल र पोषण फोकल पर्सन बसन्ती मल्लको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेत, राजन शाही तथा नेपालगञ्ज उपमहानगरपालिकाका पोषण फोकल पर्सन तेज बहादुर ओलीले गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले स्वास्थ्यकर्मीहरूले पूर्ण प्रतिबद्धताका साथ सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै नेपालगञ्जको पोषण अवस्था अझै सन्तोषजनक नभएको उल्लेख गरे । उनले पोषण सुधारका लागि जीवनचक्र दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

तालिमको समापन समारोहमा स्वास्थ्य शाखा प्रमुख चन्दले नेपाल सरकारको लक्ष्यअनुसार सेवा विस्तार गर्न र महिला स्वास्थ्य स्वयंसेविकासम्म सेवा पु¥याउन सक्रिय हुन सहभागीहरूलाई आग्रह गरे ।

तालिममा नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १ देखि २३ सम्मका स्वास्थ्यकर्मी, बाँके युनेस्को क्लबका प्रतिनिधि तथा पोषण सहजकर्तासहित २९ जनाको सक्रिय सहभागिता रहेको थियो । 

तालिम व्यवस्थापनमा परियोजना संयोजक दृष्टि शाह र मील अधिकृत अनु चौधरीले सहयोग गरेकी थिइन् ।

प्रतिक्रिया