कोहलपुर (बाँके) : कोहलपुर नगर अस्पतालबाट सञ्चालन हुँदै आएको स्वास्थ्य बिमाअन्तर्गतको औषधी वितरण तथा प्रयोगशाला सेवा अर्को निर्णय नआएसम्मका लागि स्थगित गरिएको छ। यस निर्णयपछि स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिँदै आएका सेवाग्राही प्रत्यक्षरूपमा प्रभावित भएका छन्।
कोहलपुर नगरपालिकाको नगर कार्यपालिकाअन्तर्गत सञ्चालन हुँदै आएको कोहलपुर नगर अस्पतालले स्वास्थ्य बीमा बोर्डको नयाँ निर्णय तथा परिपत्रअनुसार निर्धारण गरिएको सेवा थैलीको दररेट अत्यन्त न्यून भएको भन्दै उक्त दररेटमा सेवा दिन नसकिने जनाएको छ।
स्वास्थ्य बिमा बोर्डको जेठ ११ गतेको निर्णय र जेठ १२ गतेको परिपत्रअनुसार जेठ १६ गतेदेखि लागू हुने गरी सेवा थैली परिमार्जन गरिएको थियो। तर परिमार्जित दररेटअनुसार औषधी तथा प्रयोगशाला परीक्षणको मूल्य अत्यन्त न्यून रहेको र सो दरमा सेवा सञ्चालन गर्दा आर्थिक रूपमा धान्न नसकिने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ।
यही कारणले जेठ १९ गते बसेको नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले हाललाई स्वास्थ्य बीमाअन्तर्गत औषधी वितरण तथा प्रयोगशाला सेवा स्थगित गर्ने निर्णय गरेको हो। अर्को निर्णय नआएसम्मका लागि सेवा बन्द रहने सूचनामा उल्लेख गरिएको छ। अस्पताल प्रमुख डा. आनन्दकुमार चोरवारले नयाँ दररेटमा सेवा दिन असमर्थ रहेको स्पष्ट पारे।
सेवा स्थगित भएपछि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सयौँ सेवाग्राही प्रभावित भएका छन्। विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर वर्गका बिरामी बढी प्रभावित भएका छन्। अब उनीहरूले बिमा सुविधा प्रयोग गर्न नपाउँदा निजी फार्मेसी तथा निजी प्रयोगशालाबाट पूर्ण शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको छ।
स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बिमा कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु भए पनि सेवा नै स्थगित हुँदा विपरीत असर परेको बताएका छन्।
अर्कोतर्फ, अस्पताल प्रशासनले भने स्वास्थ्य बिमा बोर्डले तोकेको दररेटमा सेवा सञ्चालन गर्न कठिनाइ भएको दोहो¥याएको छ। औषधी खरिद लागत, प्रयोगशाला सञ्चालन खर्च तथा सेवा प्रवाहसँग सम्बन्धित अन्य खर्च नधान्ने भएकाले सेवा स्थगित गर्न बाध्य हुनुपरेको जनाएको छ। यस घटनाले स्वास्थ्य बिमा कार्यक्रमको नीति र स्थानीय तहमा यसको कार्यान्वयनबिच देखिएको असमञ्जस्यलाई उजागर गरेको छ।
सरोकारवालाबिच समन्वय गरी शीघ्र समाधान निकाल्नुपर्ने माग स्थानीय स्तरमा उठ्न थालेको छ। हालको अवस्थाका कारण सेवाग्राही अन्योलमा परेका छन् भने स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन कहिले हुन्छ भन्ने विषय अनिश्चित् बनेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार