Listen LIVE

गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवम् बधाई ज्ञापन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले बिहीबारको दिन नेपाली जनताले ऐतिहासिक विजय हासिल गरेको दिनको रूपमा स्मरण गर्दै गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गरे । ‘१७ वर्षअघि नेपाली जनताले गरेको निरन्तर सङ्घर्ष, त्याग, बलिदान र जनआन्दोलनको सफलताको रूपमा हामीले यही दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका थियौं ।’ शुभकामना सन्देशमा भनिएको छ, ‘यही दिनबाट सम्पूर्ण नेपाली नागरिक सार्वभौम बनेका छौं ।’

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसङ्गत र उत्तरदायी शासनको जग बसालिएको दिनको स्मरण गर्दै वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।  ‘गणतन्त्रले हामीलाई अधिकार मात्रै दिएको छैन, कर्तव्य पनि दिएको छ । जनताको सहभागितामूलक शासन प्रणालीमा प्रदेश सरकारहरूलाई सशक्त बनाउँदै सङ्घीयताको संस्थागत विकास र सुद्धीकरण गर्नु आजको आवश्यकता हो ।’ शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानको भावना अनुसार प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउन योजनाबद्ध ढङ्गले कार्यहरू अगाडि बढाइरहेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सेवा प्रवाहको सुधार, सुशासन प्रवर्धन, युवालाई स्वरोजगार तथा उद्यमशीलता तर्फ प्रेरित गर्ने कार्यक्रम, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन, पूर्वाधार विकास, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तारलगायतका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू अघि सारेको छ ।

उनले प्रदेश सरकार सङ्घ र स्थानीय तहसँग सहकार्य गर्दै प्रदेशको क्षमता विस्तार, समृद्धि र सामाजिक न्याय कायम गर्न विशेष जोड दिइरहेको बताए ।

मुख्यमन्त्री आचार्यले गणतन्त्रले स्थापित गरेको राजनीतिक अधिकारलाई जनताको जीवनस्तरसँग प्रत्यक्ष जोड्नु साझा जिम्मेवारी भएको स्पष्ट पारे । उनले उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी सिर्जना र जनउत्तरदायी शासन प्रवर्धनमार्फत मात्रै गणतन्त्रको मर्मलाई साकार पार्न सकिने धारणा राखे ।

‘गणतन्त्र दिवस स्मरण, प्रतिबद्धता र सङ्कल्पको दिन हो ।’ उनले भने, ‘आजको दिन हामीले विगतको योगदानलाई सम्झिनुका साथै वर्तमानको मूल्याङ्कन गर्दै भाबी पुस्तालाई समुन्नत, समावेशी र आत्मगौरवपूर्ण उत्साह हस्तान्तरण गर्ने सङ्कल्प गर्नुपर्छ ।’

प्रतिक्रिया