नेपालगञ्ज : भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेका विभिन्न संघसंस्था र व्यावसायिक प्रतिष्ठानबाट सहयोग जुटिरहेको छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार २ सय ७४ रुपैयाँ सहयोग जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार विभिन्न २१ संघसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।
कार्यालयका अनुसार गोर्खा स्कुलले १ लाख रुपैयाँ, नेपाल ज्वेलर्सले २ लाख ११ हजार रुपैयाँ, सन्तोष ज्वेलर्सले १ लाख १ सय रुपैयाँ र राजा खानले १ लाख रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै मोहमद सफिक बेहनाबाट १ लाख ५१ हजार १ सय रुपैयाँ, ओलमा फाउन्डेसन नेपालले विभिन्न मस्जिदबाट संकलन गरेको १ लाख ५८ हजार २ सय ३६ रुपैयाँ, सञ्चारिका समूह नेपाल बाँके शाखाबाट २० हजार १ सय ५ रुपैयाँ तथा नेपाली मस्जिद तब्लिगी सञ्चालक समितिबाट ४० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यसैगरी लाइफलाइन जनरल हस्पिटलबाट ७५ हजार, निलु रेग्मी, मुक्ता रेग्मी र अनिशा रेग्मीबाट २५ हजार तथा ओलमा फाउन्डेसन नेपालले विभिन्न मस्जिदबाट संकलन गरेको थप १ लाख ३० हजार ९ सय रुपैयाँ कोषमा जम्मा भएको विवरणमा उल्लेख छ । त्यस्तै सुनाखरी रेस्टुरेन्टबाट ५१ हजार, रमाशंकर गुप्ताबाट १ लाख ११ हजार, नेपाल पत्रकार महासंघ बाँकेबाट ५१ हजार र नेपालगञ्ज उद्योग वाणिज्य संघबाट ६ लाख १ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
यसैगरी आदर्श मावि नेपालगञ्ज–१० बाट २ लाख ३४ हजार ५ सय ४०, नेपालगञ्ज बहुमुखी क्याम्पसबाट ४२ हजार ६ सय ८२, साइना क्याफेबाट १ लाख १ सय ११, बाँके कला केन्द्र नेपालगञ्जबाट ५१ हजार, मंगलप्रसाद नमुना मावि नेपालगन्जबाट ३२ हजार ५ सय तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स -नाट्टा) बाट ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार विपदमा परेका नागरिकको उद्धार तथा राहतका लागि बाँकेबाट विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाले उल्लेख्य सहयोग गरेका छन् ।
बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य संघले ६ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ । त्यसपछि नेपाल ज्वेलर्सबाट २ लाख ११ हजार रुपैयाँ तथा विभिन्न मस्जिदबाट संकलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोग बाहेक पनि विभिन्न संघसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको हो ।
प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार