नेपालगञ्ज : नागरिकको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरी आफैँ जीर्ण र असुरक्षित भवनमा बसेर सेवा दिन बाध्य छन् । चौबीसै घण्टा नागरिकको सुरक्षामा खटिने प्रहरी कार्यालयका छाना चुहिने, पर्खाल चर्किने र छत अड्याउन बाँसको टेको लगाउनुपर्ने अवस्था छ ।
वर्षौँदेखि जोखिमपूर्ण संरचनामा बसेर सुरक्षा सेवा प्रदान गरिरहेका प्रहरीको अवस्थाले उनीहरूको कार्यस्थलको सुरक्षा र आधारभूत सुविधाप्रति राज्यको ध्यानबारे प्रश्न उठाएको छ ।
बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाउँपालिका–१, सुइयास्थित इलाका प्रहरी कार्यालय यसको एउटा उदाहरण हो । भारतीय सीमासँग जोडिएको यस क्षेत्रको प्रहरी कार्यालयको भवन यति जीर्ण छ कि पक्की छतको बिम अड्याउन बाँसको टेको लगाइएको छ । भित्तामा चिरा परेका छन् भने वर्षात्का बेला कोठाभित्र पानी चुहिन्छ । भवनका अधिकांश कोठा जोखिमपूर्ण अवस्थामा छन् ।
यही भवनमा बसेर प्रहरी सहायक निरीक्षकसहित पाँच जना प्रहरी नागरिकको सुरक्षा र सीमा क्षेत्रको निगरानीमा खटिरहेका छन् । करिब पाँच हजार नागरिकको सुरक्षाको जिम्मेवारी सम्हालिरहेको प्रहरी टोलीसँग सुरक्षित आवास, व्यवस्थित कार्यालय र आधारभूत सुविधासमेत पर्याप्त छैनन् ।
नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी पाएका प्रहरी आफैँ असुरक्षित संरचनाभित्र बसेर काम गर्नुपर्ने अवस्था विडम्बनापूर्ण छ । सुरक्षा संवेदनशील क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई आफ्नै कार्यालयमा सुरक्षित महसुस गर्नसमेत कठिन भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार