Listen LIVE

ब्रुसेलोसिस रोगले पुरुषमा नपुंसकता बढाउने जोखिम

नेपालगञ्ज : ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । नेपालगञ्जमा भएको अभिमुखीकरण कार्यक्रममा ब्रुसेलोसिस रोगले पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई असर गर्ने उच्च सम्भावना रहेको बताइएको छ । 

पशुहरूबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरूका बारेमा सचेतना जगाउन नेपालगञ्जमा भएको कार्यक्रममा ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने तथा पशुहरूमा गर्भ तुहिने तथा साल अड्किने समस्या आउने गरेको बारेमा छलफल गरिएको थियो । पशु सेवा शाखाले पशु प्राविधिक, कृषक र सरोकारवालालाई सचेत बनाउन अभिमुखीकरण गरेको हो । 

पशु प्राविधिक, कृषक र सरोकारवाला गरी ४० जनालाई अभिमुखीकरण गरिएको छ । पशुबाट मानिसमा सर्ने रेबिज, ब्रुसेलोसिस, बर्डफ्लु, टिबी लगायतका रोगहरूका बारेमा जानकारी गराउन उद्देश्यले अभिमुखीकरण गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताइन् । 

पशु प्रजनन कार्यालय गौघाट बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले जिनोटिक रोहरूको जोखिम र नियन्त्रणबारे सहजीकरण गर्दै जानकारी गराए । डा.चौधरीले रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाइबाट मानिसमा सर्ने भएकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूको भ्याक्सिनेशन र बन्ध्याकरणमा ध्यान दिन जरुरी रहेको बताए । नेपाल सरकारको सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया