दाङ : मतदातासँग प्रत्यक्ष संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै नेकपा (एमाले) का महासचिव एवम् दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर पोखरेल मतदाताको घरमा पुगेका छन् ।
घोराही उपमहानगरपालिका –६ र १७ का विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू मुख्यमन्त्री रहँदा तयार पारेको विकासको ‘रोडम्याप’ र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गरेको बताए । पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा विजय आवश्यक रहेको बताए ।
“विकास योजना कागजमा मात्र सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ” उनले भने, “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।” कार्यक्रमको क्रममा उनले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताए । स्थानीय विकासको उदाहरण प्रस्तुत गर्दै उनले सडक, पूर्वाधार, खानेपानी र सिँचाइजस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता रहेको बताए ।
घोराही –१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासी रमण चौधरी र बालाराम वलीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरे । उनीहरूले विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो राखे । जवाफमा पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ” उनले भने, “अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।” मतदातासँगको संवादमा उनले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राखे ।
“दाङको समृद्धि साझा एजेण्डा हो” पोखरेलले भने, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।” प्रत्यक्ष भेटघाट, स्थानीय सवालमा खुला छलफल र विगतको कामको आधारमा मत माग्ने पोखरेलको शैलीले चुनावी माहोलमा विकासे बहसलाई प्राथमिकतामा ल्याएको देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार