Listen LIVE

बाँकेमा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागु

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँकेमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार जिल्लाका १३९ मतदान स्थलको सुरक्षाका लागि व्यापक जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरीका ११ सय, सशस्त्र प्रहरीका ८ सय, नेपाली सेनाका ५ सय ५३ तथा निर्वाचन प्रयोजनका लागि २५ सय जना निर्वाचन प्रहरी खटाइएको उनले जानकारी दिए ।

प्रजिअ तामाङले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन तथा समन्वय कार्य पूरा भइसकेको स्पष्ट पारे । बाँके खुला सिमानासँग जोडिएको जिल्ला भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय र छलफल सम्पन्न भइसकेको उनको भनाइ छ ।

निर्वाचन अवधिभर सीमा क्षेत्र पूर्णरूपमा बन्द गरिनेछ भने सीमामा भारतीय सुरक्षाकर्मी र सशस्त्र प्रहरीले संयुक्तरूपमा कडा निगरानी गर्ने व्यवस्था मिलाइएको छ । “सुरक्षा व्यवस्था मजबुत छ, नागरिकहरू ढुक्क भएर मतदानमा सहभागी हुनुस्,” प्रजिअ तामाङको अपिल छ ।

प्रतिक्रिया