नेपालगञ्ज : बाँके र दाङको सिमाक्षेत्रमा केहीदिनदेखि (हिंसक वन्यजन्तु) पाटेबाघ र चितुवाको आतंक बढेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतंक बढेको हो ।
राप्ती सोनारी–१ बर्दापुरका स्थानीय बासिन्दा रुद्र ओलीका अनुसार पाटेबाघ गाउँ नजिकैको वन, जंगलमा देखा परिरहेको छ । दिनहुँजसो बाघ देखा पर्न थालेपछि स्थानीय बासिन्दाहरु भयभित र आतंकित बनेको उनले बताए । बाघ र चितुवाको सम्भावित खतराबाट बच्न स्थानीय बासिन्दाले झाडी, बुट्यान सफाई समेत गरेका छन् ।
राप्ती सोनारी–१ खोकरीका स्थानीय कृष्ण चौधरीका अनुसार शनिबार पाटेबाघ बाँकेको सिमाक्षेत्र रहेको दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँको उत्तरतर्फ रहेको राप्ती बगरको नर्सरीमा देखा परेको छ । पाटेबाघ लुकेको नर्सरी पुर्व–पश्चिम राजमार्ग अन्र्तगत अमिलियादेखी राप्तीपारी क्षेत्र हो । नर्सरीमा पाटेबाघ लुकेको स्थानीय बासिन्दाले देखेको चौधरीले बताएका छन् ।
केहीदिन अघि बाँकेको राप्ती सोनारी–१ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको थियो । त्यसको केहीदिन पछि बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने सुर्खेतको सिमावर्ती क्षेत्रमा एक जना र बाँके राष्ट्रिय निकुञ्जको सिमावर्ती क्षेत्र सल्यानको कालिमाटी गाउँपालिकामा २ जनाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार