Listen LIVE

निलसागर सेवा आश्रमको नव निर्मित भवन उदघाटन

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उदघाटन गरेका छन् । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुका लागि नवनिर्मित भवनको बिहीबार उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मानवलाई सडकमा आउन नपर्नेगरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

अमानवीय व्यवहारका कारण मानिसलाई घरबाट सडकमा पुर्याएको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गर्न चेतना अभिवृद्धिको अभियानलाई व्यापक बनाउन प्रदेश सरकारले साझेदारी गर्ने बताए ।

‘‘अमानवीय वर व्यवहारले मानिसलाई सडकमा पुर्याएको छ । यस्ता समस्या समाधानका लागि मानिसमा चेतना बढाउन जरुरी छ ।,’’ उनले भने, ‘आफ्नै सन्तानलाई सडकमा छाडेका घटना पनि छन् । मानिसले यस्तो कसरी गर्न सक्छ ? कारण खोजेर चेतना अभिवृद्धिका लागि ध्यान दिन जरुरी छ ।’’

संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको र त्यसको कार्यान्वयन गर्ने दायित्व राज्यको भएको मुख्यमन्त्री आचार्यले बताए ।

‘‘संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी तीन तहकै सरकारको हो । हामिले त्यो जिम्मेवारी निर्वाह गर्छौं ।,’’ मुख्यमन्त्री आचार्यले भने, ‘‘प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानलाई निर्णायक बनाउन सबैको साथ सहयोगको खाँचो छ ।’’

सरकार सबैको हो भन्ने महशुस गराउनेगरी काम भइरहेको, मानव कल्याणका लागि निलसागर आश्रमले गरेको कामको उदाहरणीय भएको चर्चा गर्दै उनले आश्रममा स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

आश्रमको नाममा बाँकेमा जग्गा प्राप्ति भएको खण्डमा भवन निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्ने समेत विश्वास दिलाए । घर परिवारमा मनाउने उत्सवहरु समेत आश्रममा पुगेर मनाउन मुख्यमन्त्री आाचर्यले आह्वान समेत गरे ।

पालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भवन उदघाटन कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सम्मानपूर्वक बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी तीन तहकै सरकारको भएको बताए ।

कानुनी जटिलता फुकाउदै मानव कल्याणका कामहरुलाई अघि बढाउन जरुरी रहेकोमा जोड दिए । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले संविधानले सुनिश्चित गरेका अधिकारलाई जनताले महशुस गर्नेगरी कार्यान्वयन प्रदेश सरकारले गरिरहेको बताए ।

प्रदेश सभा सदस्य इन्द्रजित थारुले सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूती दिलाउने जिम्मेवारी राज्यको भएको बताए । निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनालले मानव सेवाका लागि राज्य तहबाट सहयोग र सहकार्य हुँदा अभियानले थप व्यापकता पाउने बताए ।

प्रतिक्रिया