Listen LIVE

किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

नेपालगञ्ज : पूर्वमन्त्री एवम् बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राई र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल यादवले किसानले खेतीका बेला रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्वमन्त्री राई र लुम्बिनी प्रदेशका मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्ज पुगेर रासायनिक मलको स्टक र आपूर्तिको अवस्थाबारे जानकारी लिनुका साथै तत्काल किसानलाई सहज र सरल रूपमा मल उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य राईले धान रोपाइँका बेला मल अभावले किसान समस्यामा परेको भन्दै किसानले समयमा मलखाद पाएनन भने उत्पादन घट्ने भएकाले मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको बताए ।

उनले आफूले संसद्मा मल अभावको विषय पटक–पटक उठाएको स्मरण गराउँदै सो बारेमा बाँकेका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरोकारवाला सम्बन्धित निकायसँगको बैठकमा सहज मल आपूर्तिबारे छलफल गरेको बताए ।

छलफलमा सांसद राईले देशभित्र मल नपाइरहेका बेला सीमापारि भारतबाट किसानलाई मल ल्याउन नदिइएकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, 'तस्करी रोक्नु पर्छ, अवैध काम छेक्नु पर्छ तर देशभित्र मल नपाएर तड्पिएका कृषकले एक बोरा मल पारिबाट ल्याउँदा दुख दिने काम गरिनु हुँदैन ।' सांसद राईले सीमापारिबाट मल ल्याउँदा किसानले उत्पादन बढाउने र त्यसबाट देशको खाद्य सुरक्षा कायम रहने भएकाले त्यसलाई अपराधको दृष्टिले नहेर्न सरकारी निकायलाई आग्रह गरिएको बताए ।

सोही अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री यादवले देशभित्रै सहज रूपमा मल पाइने अवस्था सिर्जना गरिनुपर्नेमा जोड दिए । उनले अधिकांश किसानले मल नपाएको गुनासो गरेको बताए ।

मल आपूर्ति र वितरणको अवस्था बुझ्न कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जस्थित कार्यालय र गोदाममा पुगेका दुवै जना सांसदलाई कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले सो बारेमा विस्तृत जानकारी गराएका थिए ।

उनले आवश्यकता र मागभन्दा निकै कम मल आपूर्ति हुने भएकाले नै हरेक वर्ष खेतीका बेला मलको समस्या झेल्नुपरेको बताएका थिए ।

प्रतिक्रिया